Logo

‘प्रचण्डले जसलाई भन्नुहुन्छ, त्यही राष्ट्रपति हुन्छ’



काठमाडौं, ८ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कानुनमन्त्रीले भन्दैमा संघीयता खारेज नहुने बताएका छन् ।
‘मन्त्रीजीले त्यसो भन्नु भयो जस्तो मलाई लाग्दैन । त्यो उहाँहरुको पार्टीगत वा व्यक्तिगत दृष्टिकोण होला । कानुनमन्त्रीले भन्दैमा संघीयता खारेज पनि हुँदैन । सरकार संविधानमा लेखेको कुरा अनुसार चल्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मोदीले भने ।
मन्त्री मोदीले लामो समयदेखि थन्किएको राष्ट्रिय निजामती विधेयक पारित गर्न आफ्नो कोसिस रहने बताएका छन् । उनले भने, ‘म मनन्त्रालयमा गएको चारपाँच दिन मात्र भएको छ । हामी तीनै तहको सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने गृहकार्यमा छौं । सकेसम्म यही सदनमा नभए पनि मेरो कार्यकालमा लामो समयदेखि थन्किएको राष्ट्रिय निजामती विधेयक ल्याएर कर्मचारीका समस्या गर्न लागिरहेको छु ।’ साथै उनले बरन्डामा बसेका कर्मचारीहरुलाई फिल्डमा खटाउने प्रतिबद्धता पनि जनाइए । उनले भने, ‘यो कर्मचारीकै लागि ल्याउने हो । कर्मचारीले साथ नपाउने कुरै भएन । सुरुमा कुरा नबुझे कन्भिन्स गराउने काम हुन्छ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अनुसार नै राष्ट्रपति र उपराष्ट्रपति चयन हुने पनि बताए । उनले थपे, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले जे निर्णय गर्नुहुन्छ, त्यही अनुसार हुन्छ । अहिलेको जे गठबन्धन छ, त्यही अगाडि बढ्छ ।’ गठबन्धन तलमाथि नहुने ठोकुवा पनि उनले गरे ।



प्रतिक्रिया दिनुहोस्