Logo

कांग्रेस नेताको प्रतिवाद– गृहमन्त्रीले प्रहरीलाई सांसद पक्रन भनेको कि भाग्ने समय दिएको ?



काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले गृहमन्त्रीले नेपाल प्रहरीलाई सांसद पक्रन निर्देशन दिनु पाखण्ड मात्र भएको बताएका छन् ।
‘एमाले सांसद लक्ष्मी महतोलाई पुनरावेदन अदालतले थुनामा राखी कारबाही गर्ने फैसला गरिसकेको छ । उहाँ कानुनको नजरमा फरार अभियुक्त हो । उहाँले दुईदिनचोटि संसदमा हाजिर गरेर सरकारलाई विश्वासको मत दिइसक्नुभयो । गृहमन्त्रीको वक्तव्य सार्वजनिक खपतका लागि भएको देखियो । कानुन बमोजिम पक्राउ नगरी केवल वक्तव्यबाजी गर्नु पाखण्ड हो । यो भन्दा हास्यास्पद कुरा केही हुनै सक्दैन । गृहमन्त्रीले प्रहरीलाई सांसद पक्रन भनेको हो वा भाग्ने समय दिएको हो ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
कांग्रेसले त प्रमुख प्रतिपक्षी दलको नेताका साथै संवैधानिक परिषद्को सदस्य पनि गुमाउने भयो नि भन्ने प्रश्नमा सांसद घिमिरेले भने, ‘नेपाली कांग्रेसले सत्तालाई समर्थन गरेकै होइन, विश्वासको मत मात्र दिएको हो । राष्ट्रपति कार्यालयमा पत्र बुझाउन गएका दलहरु मात्र सरकार निर्माणका समर्थक दल हुन् । कांग्रेस सरकार निर्माणमा सहयोगी दल होइन । यस्ता मत त सरकारलाई धेरै ठाउँमा दिनुपर्ने हुन्छ । संवैधानिक सदस्य नपाउँदा संसार डुब्यो भन्ने होइन । सभामुखले हामीलाई प्रमुख प्रतिपक्षी दल मान्नुभएन भने त्यसपछिको बाटो छँदै छ । हामी कहाँ चुप लाग्छ र ? सभामुखले कृपा गरेर दिनु भएन भनेर रोइलो गरेर बसौंला त ?’
एमालेलाई राष्ट्रपति दिँदा त्यसको परिणाम कांग्रेसले मात्र नभएर सिंगो मुलुकले नै भोग्नुपर्ने पनि उनले औंल्याए । घिमिरेले भने, ‘राष्ट्रपति पदका विषयमा हामी गम्भीर छौं । वर्तमान राष्ट्रपतिले पार्टीको नेतृत्व छोड्न चाहनुभएन । एमालेकै नेताका रुपमा झन्डै सात वर्ष चलाउनुभयो । अब पनि एमालेलाई नै राष्ट्रपतिको जिम्मेवारी दिने हो भने त्यसको परिणाम कांग्रेसले मात्र भोग्ने होइन, सिंगो देशले नै भोग्ने हो नि ।’ साथै उनले राष्ट्रपति नपाउँदैमा कांग्रेसको राजनीति नसकिने जिकिर गरे । घिमिरेले भने, ‘त्यसपछि मुलुकको राजनीतिक फोर्स परिवर्तन हुन्छ । कांग्रेस आफ्नो बाटो लाग्छ । कसिलो, चोटिलो प्रतिपक्ष रहन्छ । त्यसको सबैभन्दा ठूलो मूल्य चुकाउने पुष्पकमल दाहाल र उहाँको दल हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्