काठमाडौं, माघ ८ । प्रतिनिधिसभा संसद्मा वर्तमान सरकारको आलोचना शुरू भएको छ । सरकारले पूर्णता पाएको एक हप्ता नबित्दै सदनमा सांसदहरूले सरकारमा सहभागी मन्त्रीहरू र उनीहरूका गतिविधिका विषयमा प्रश्न उठाउन थालेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपालगायत सात दलीय गठबन्धन सरकारमा विवादित छवि बनाएका सांसदहरू मन्त्री बनेका र उनीहरूले सम्बन्धित क्षेत्रका अनियमितताको ढाकछोप गर्ने सांसदहरूले आरोप लगाएका छन् ।
शनिबारको संसद् बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेको पासपोर्ट छानबिनको विषयलाई संसद्मा उठाएका छन् । नागरिकता छानबिन भइरहेका सांसद लामिछानेले आफ्नो कमजोरी ढाकछोप गर्न गृहमन्त्री रोजेर गठबन्धन सरकारमा गएको बताए । उनले लामिछानेको पासपोर्ट र नागरिकता छानबिनको विषयलाई संसद्लाई जानकारी गराउन रुलिङ गर्न सभामुखसमक्ष आग्रहसमेत गरे ।
त्यस्तै, व्यक्ति हत्या आरोपित नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको विषयमा सरकारप्रति प्रश्न सांसदहरूले प्रश्न उठाएका छन् । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसद कोइरीलाई पक्राउ गर्न अदालतले आदेश दिए पनि सरकारबाटै संरक्षण भएको उनीहरूले आरोप लगाए ।
प्रतिपक्षी बेन्चमा रहेका सांसदहरूले उक्त विषयमा प्रश्न उठाइरहँदा सरकारमा सहभागी हुनु अघिसम्म चर्को विरोध गर्ने नयाँ सांसदहरूले गलत प्रवृत्तिको खण्डन गर्न सकेनन् । नेपाल समाचारपत्र दैनिकबाट