काठमाडौं, ८ माघ । नेपाली कांग्रेसले राष्ट्रपतिमा आफूले अघि सारेको उम्मेदवारलाई नेकपा (माओवादी केन्द्र) ले सघाउने बताइरहेको छ । २६ पुषमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा दाबी गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउनेबारे सहमति भएको चर्चा छ । सभामुख र उपसभामुखको निर्वाचन भैसकेको छ।
सभामुखमा एमालेका देवराज घिमिरे र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भैसकेका छन् । अब राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिको निर्वाचन हुँदासम्म अहिलेको ७ दलीय सत्तारुढ गठबन्धन भत्किने चर्चा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा समझदारी कायम गरिने भनेका छन् । तर, एमालेले पुष १० गते प्रधानमन्त्रीमा प्रचण्डले दाबी गर्न शितलनिवासमा जानुअघि नै अध्यक्ष ओलीको बालकोटस्थित् निवासमा राष्ट्रपति एमालेले लिने सहमति भैसकेको दाबी गरेको छ । एमाले अध्यक्ष ओलीले पनि राष्ट्रपतिमा एमालेले अघि सारेको उम्मेदवारको नाममा सहमति हुनुपर्ने बताएका छन् ।
तर, कांग्रेसले भने राष्ट्रपतिमा माओवादीलाई पनि स्विकार्य हुने व्यक्तिको खोजी गरेको छ । त्यसको लागि सभापति देउवाले माओवादीलाई सशस्त्र द्धन्द्धबाट शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका र १२ सम्झौता गराउन पनि निर्णायक भूमिका खेलेका कृष्णप्रसाद सिटौलालाई अघि सार्न खोजेका छन् ।
सिटौलालाई राष्ट्रपतिको उम्मेदवार बनाउनको लागि प्रधानमन्त्री दाहालले पनि ग्रिन सिग्नल दिएको चर्चा हुन थालेको छ। सिटौलाको नाममा मधेशवादी दलले पनि समर्थन जनाउने बुझिएको छ। अहिले कांग्रेस र माओवादीका केही नेताहरुले राष्ट्रपतिमा महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र कृष्ण सिटौलाको नाममा सहमति जुटाउन प्रयत्न गरेको चर्चा छ ।