Logo

ऋषि धमलाले गरे राजु बस्यालको गीत ‘ओबामा’ सार्वजनिक



अमेरिकी राष्ट्रपतिको नेपाल भ्रमण गराउन पहल गरिनुपर्ने धमलाको भनाई

काठमाडौं, ८ माघ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको जीवनीसँग सम्बन्धित गीत ‘ओबामा’ सार्वजनिक भएको छ । राजु बस्यालको गीत ‘ओबामा’ आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा क्लबका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला र गीतकार बस्यालले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

ओबामाले सन् २००९ मा अमेरिकाको राष्ट्रपति बनेपछि राम्रा काम गरेर नोबल पुरस्कार पाएको, फियर पे–एक्ट ल्याएर समान कामको लागि समान ज्यालालगायतका राम्रो काम गरेकोले आफू प्रभावित भएर गीत रचना गरेको गीतकार बस्यालको भनाई छ ।

नेपाल र अमेरिकाबीचको सौहार्दपूर्ण सम्बन्ध अझै गहिरियोस भन्ने आफ्नो चाहना भएको उल्लेख गर्दै गीतकार बस्यालले उक्त गीत प्रमोटका लागि नेपालस्थित् अमेरिकी दुतावासबाट सहयोगको अपेक्षा गरेको पनि बताए । साथै, उनले ओबामा र उनका फ्यानहरुलाई नेपाल भ्रमणका लागि पनि आग्रह गरे ।

सो अबसरमा क्लबका सभापति ऋषि धमलाले गीतकार बस्याललाई नयाँ सांगीतिक कोशेली प्रस्तुत गरेकोमा बधाई दिएका छन् । गीतले नेपाल–अमेरिका सम्बन्ध बलियो र सुमधुर बनाउन सघाउने धमलाको विश्वास थियो । अमेरिकाका पूर्व राष्ट्रपति ओबामा नेपाललाई माया गर्ने राष्ट्रपतिको रुपमा चिनिएको उल्लेख गर्दै धमलाले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन कुटनीतिक पहल गरिनुपर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्