काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनमत पार्टीले माग गरेको मन्त्रालय पाउने भएको छ। माघ ३ गते प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारगर्दा जनमतले माग गर्दै आएको मन्त्रालय दिएका थिएनन्। जनमतले उद्योग वा कृषि मन्त्रालयमध्ये एक मन्त्रालय पाउनुपर्ने माग राखेको थियो।
जनमतले आफूले माग गरेको मन्त्रालय नपाए सरकार छोड्ने भनेर आजसम्मको अल्टिमेटम दिएको थियो। आफूले माग गरेको मन्त्रालय पाउनुपर्ने भन्दै जनमत अध्यक्ष डा सिके राउत एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डसँगको भेटघाट तीव्र बनाएका थिए।
भेटघाटमा आफूले रोजेको मन्त्रालय नपाए सत्ता गठबन्धनबाट बाहिरिने भनेर डा राउतले आजसम्मको समयसीमा दिएकोमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिन तयार भएका हुन्।
मन्त्रिमण्डल विस्तारहुँदा जनमतले पाएको खानेपानी मन्त्रालयमा मन्त्री अब्दुल खानले अहिलेसम्मपनि पदभार ग्रहण गरेका थिएनन्।
हाल एमालेबाट उद्योगमन्त्रीमा रहेका दामोदर भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर खानलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको एक मन्त्रीले बताए।
जसपालाई उद्योग दिँदा एक मन्त्रालय मात्रै दिनुपर्ने र जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीपनि सरकारमा आउने सम्भावना बढी भएको हुँदा उनीहरुलाई मिलाउन प्रधानमन्त्री प्रचण्डले दुई वटा मन्त्रालय आफैंसँग राखेका थिए।
जनमत पार्टीका मन्त्री खानले आज प्रधानमन्त्री प्रचण्डसँग भेटेर मन्त्रालयबारे छलफल गरेका थिए। प्रचण्डले अन्यदलसँग छलफलगरी भोलिसम्म टुङ्गो लगाउने बताएका थिए।