काठमाडौं, ९ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री र मन्त्रीहरु काम छाडेर उद्घाटनमा व्यस्त हुन थालेको कुरा असत्य भएको बताएकी छन् ।
‘प्रचण्डले सरकार सम्हालेको भरखर एक महिनामात्र भएको छ । त्यसबीचमा सरकारले असाधारण विश्वासको मत पायो । सरकारले पूर्णता पनि पाएको छ । सभामुख र उपसभामुखको चयन भएको छ । यसबीचमा अरु काम छाडेर सामान्य रुपमा एकाध कार्यक्रममा जाने काम भए होलान् तर उद्घाटनमा व्यस्त भएको भन्ने कुरा सत्य होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भनिन् ।
जनतालाई प्रत्यक्ष अनुभव हुने गरी समग्र सेवा प्रवाह गर्न सबै मन्त्रीहरु लागिरहेको पनि उनले बताइन् । उनले भनिन्, ‘हामी जनतासँग जोडिएर काम गर्न लागिरहेका छौं । जनतालाई कसरी चुस्त दुरुस्त डेलिभरी दिन सकिन्छ भनेर लागिरहेका छौं । हाम्रासेवा प्रवाहलाई सक्दो प्रविधिमैत्री बनाउने प्रयास गरिरहेका छौं । त्यो परिणाम देखिन अलिकति समय लाग्छ ।’
साथै उनले श्रमजीवी पत्रकारका हक हित तथा राजमार्गमा फोनको नेटवर्क नटिप्ने समस्या समाधानमा पनि आफू लागिरहेको उनले बताइन् । उनले सरकारमा मधेसी दलहरुलाई प्रतिनिधित्व नगराउने सोच नरहेको दाबी गर्दै दलितको प्रतिनिधित्व छुटेको स्वीकार गरिन् ।
नेकपा (माओवादी केन्द्र) की नेतृ समेत रहेकी शर्माले संविधानको मर्म अनुसार राष्ट्रपतिमा सहमति गर्न सक्दा देशकै निम्ति उपलब्धि हुने औंल्याइन् । उनले भनिन्, ‘हिजो सरकार बन्दा एउटा स्थिति थियो, विश्वासको मत लिँदा नयाँ परिस्थिति बनेको छ । मुलुकमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने अवस्था छ । प्रधानमन्त्रीज्यूले सभामुख, उपसभामुखमा पनि सहमति खोज्नुभएको हो । राष्ट्रपतिमा पनि साझा पात्र वा व्यक्तिको खोजी गर्न सकियो भन्यो राम्रो हुन्छ भनिरहनुभएको छ । त्यस्तो अवस्था बन्यो भने देशको राजनीति पनि ठीक ढंगले सम्हालिन्छ ।’ तर उनले आफ्नो पार्टीले गठबन्धनबाट दायाँबायाँ गर्ने नसोचेको पनि दाबी गरिन् ।