Logo

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको हो, सरकारलाई होइनः कांग्रेस सांसद



काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु सैद्धान्तिक रुपमा गलत रहेको बताएका छन् ।
‘हिजो हाम्रो विचार समूहको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु सैद्धान्तिक रुपमा उपयुक्त थिएन भन्ने मत आएको साँचो हो तर विश्वासको मत फिर्ता लिनुपर्छ भन्ने निष्कर्ष आएको होइन । हामी राष्ट्रपति निर्वाचनसम्म पर्खन्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले भने ।
पार्टीले ह्वीप लगाएपछि सरकारप्रतिको असहमतिका बाबजुद प्रचण्डलाई विश्वासको मत दिएको पनि गौतमले बताए । उनले थपे, ‘हामीले मुलुकको स्थिरता र विकासका लागि प्रचण्डलाई विश्वासको मत दिएका हौं । अलिकति नयाँ प्रयोग गरेका पनि हौं । तर जसलाई हामीले प्रतिगमनको नाइके पनि भन्यौं, उसकै सहयोगमा बनेको सरकार निर्माणमा हाम्रो भूमिका छैन । म फेरि पनि भन्छु, कांग्रेसको विश्वासको मत प्रचण्डलाई समर्थन हो, सरकारलाई होइन ।’
संसदमा कांग्रेसको प्रमुख विपक्षको भूमिकालाई कसैले चुनौती दिन नसक्ने पनि उनले औंल्याए । गौतमले भने, ‘हामी अहिले प्रमुख विपक्षको सेवा र सुविधा देऊ भनेर याचना गर्ने ठाउँमा पुगेका छैनौं । नैतिक रुपमा हामी प्रतिपक्ष त नै हौं । त्यो हाम्रो अधिकार हो । हामीलाई कसैले चुनौती दिन सक्दैन । तर विश्वासको मत दिइसकेपछि आत्मबलका साथ त्यो भूमिका गर्न सकिँदैन कि भन्ने पनि छ । संसदमा कांग्रेसको भूमिका रचनात्मक र सशक्त हुनुपर्छ ।’
आफ्नो विचार समूह संसदीय दल निर्वाचनमा कमजोर देखिएकामा चिन्ता प्रकट भएको उनले बताए । गौतभले भने, ‘हाम्रो विचार समूहमा २५, ३० सांसद छन् । तर संसदीय दलको निर्वाचनमा त्यो परिणाम नदेखिँदा चिन्तित भएका छौं । हाम्रो मत कहाँ हरायो ? हामो मंगलबार पनि बैठक छ । संसदीय दलको नेताको निर्वाचन, पार्टीले लिएको बाटो र आगामी दिनमा कसरी जाने भनेर घनीभूत छलफल गर्छौं ।’

 



प्रतिक्रिया दिनुहोस्