काठमाडौं, १० माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले रेशम चौधरीलाई भेट्न आफू डिल्लीबजार कारागार नगएको बताएका छन् । आफू चौधरीलाई छुटाउन काठमाडौं आएको भन्दा पनि समाजमा विद्यमान द्वन्द्व समाधान गर्न लागिपरेको उनको दाबी छ ।
‘हामीले रेशम चौधरीजीको राजनीतिक योगदानलाई बुझेका छौं । सामाजिक न्याय र समाजमा रहेका द्वन्द्वलाई समाधान गर्ने हिसाबले हामी अघि बढेका छौं । तर म रेशमजीलाई भेट्न डिल्लीबजार कारागार गएको छैन । यी सबै भ्रमात्मक खबर हुन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले भने ।
आफ्नो सरकार जोगाउनुभन्दा पनि नागरिकले न्याय पाउनु महत्त्वपूर्ण भएको उनले औंल्याए । रावलले थपे, ‘यो सत्ताप्राप्तिको अभियान होइन, समाजलाई एकजुट बनाउने अभियान हो । हामीले आफ्नो सरकार जोगाउनुभन्दा पनि नागरिकले न्याय पाउने महत्त्वपूर्ण कुरा हो । सरकारमा त भोलि पनि आउन सकिन्छ ।’
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले आफूलाई विश्वासको मत दिने पनि उनले दाबी गरे । मुख्यमन्त्री रावलले भने, ‘मूलतः हामी द्वन्द्व रुपान्तरणमा लागिरहेका छौं । यसमा सत्तापक्ष र विपक्षबीच विवाद छैन । रेशमजीको मुद्दा प्रदेश सरकारको तहमा समाधान नहुने प्रस्ट छ । न्यायालयको प्रक्रिया पनि छ । उहाँको समस्याको समाधानमा राज्यले पहल कदमी लिन्छ र लिनुपर्छ । कुनै घटना विशेषलाई सामाजिक द्वन्द्वका रुपमा राख्नुहुँदैन । रेशमजीको पार्टीले मलाई विश्वासको दिनेमा म विश्वस्त छु ।’
अर्को प्रसंगमा उनले डोटीका भूकम्पपीडितको समस्या समाधानका लागि प्रदेशको बजेट पर्याप्त नहुने भएकाले जोखिमपूर्ण बस्ती स्थानान्तरणमा संघ सरकारलाई झकझकाइरहेको बताए । पढाइ, कमाइ, दबाइ प्रदेशभित्रै सम्भव हुने वातावरण बनाउन आफू प्रयत्नशील रहेको पनि रावलले दाबी गरे ।