Logo

पाँच निर्माण कम्पनीलाई कारबाही



काठमाडौँ,११ माघ । स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने सम्झौता गरे पनि लामो समयसम्म अलपत्र पार्ने पाँचवटा निर्माण कम्पनीमाथि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले कारबाही गरेको छ । रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालित विभिन्न आठवटा स्वास्थ्य संस्था निर्माणको सम्झौता गरेर पनि लामो समयसम्म काम सम्पन्न नगर्ने निर्माण कम्पनीमाथि कारबाही गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साका प्रमुख झपटबहादुर थापाले जानकारी दिए।

योजनाको म्याद समाप्त भएर पटक–पटक म्याद थप गरे पनि लामो समयसम्म कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का तोडेर पुनः ठेक्कामार्फत काम अघि बढाइएको प्रमुख थापाले बताए ।

प्रमुख थापाका अनुसार अजम्बर/शिवराम कन्स्ट्रक्सन जेभी दोलखा, स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन हेटौँडा, डाँफे/तिरुपति जेभी पर्सा, टौदह कन्स्ट्रक्सन चाल्नाखेल–५ काठमाडौँ, म्याग्लुङ/टौदह/पञ्चकन्या जेभी काठामाडौँ र शिवराम कन्स्ट्रक्सन कम्पनी प्रालि दोलखामाथि कारबाही गरी ठेक्का तोडिएको छ ।

पटक पटक स्पष्टीकरण सोधिए पनि सन्तोषजनक जवाफ नआएको र निर्माण गर्नेतर्फ चासो नदेखाएकाले उनीहरुसँगको ठेक्का तोडिएको प्रमुख थापाको भनाइ छ ।

अजम्बर/शिवराम कन्स्ट्रक्सन जेभी दोलखाले स्वास्थ्य चौकी पटेर्वा सुगौली पर्सा, स्वास्थ्य चौकी भवन शङ्कर सरैया पर्सा, स्वास्थ्य चौकी जिगडवा बेलबिछवा रौतहट निर्माणको सम्झौता गरेको थियो ।

यस्तै स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन हेटौँडाले भेडहारी उपस्वास्थ्य चौकीको स्तरोन्नति तथा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का लिएको थियो भने डाँफे/तिरुपती जेभी पर्साले पिपरपाती पछ्रौटा उपस्वास्थ्य चौकी हेल्थ पोष्ट भवन निर्माण गर्ने सम्झौता गरेको थियो ।

त्यस्तै टौदह कन्स्ट्रक्सन चाल्नाखेल–५ काठमाडौँले चार परिवारको स्टाफ क्वार्टर भवन निर्माण कलैया बाराको निर्माण सम्झौता गरेको थियो । म्याग्लुङ/टौदह/पञ्चकन्या जेभी काठामाडौँले स्वास्थ्य चौकी भवन निर्माण औराहा पर्सा र शिवराम कन्स्ट्रक्सन कम्पनी प्रालि दोलखाले स्वास्थ्य चौकी भवन निर्माण सम्झौता पर्साको निर्माण सम्झौता गरेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले जनाएको छ । कम प्रतिस्पर्धामा ठेक्का लिएर लामो समयसम्म काम सुरु नगर्ने र गुणस्तहीन काम गर्ने प्रवृत्ति बढेकाले त्यस्ता निर्माण कम्पनीहरुमाथि निगरानीसमेत बढाएको प्रमुख थापाको कथन छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot