काठमाडौँ,१२ माघ । गलकोट नगरपालिका–५ हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइँदै छ । मापदण्ड पूरा गर्न नगरपालिकाले दरबन्दी पूरा गर्ने, आवश्यक पूर्वाधार र सामग्रीको जोहो गर्ने तयारी गरेको छ ।
जग्गा अपुग भएकाले दुई रोपनी थप गर्न लागेको वडा नं ५ का अध्यक्ष पवन हमालले बताए । “पन्ध्र शय्याको अस्पताल बनाउने तयारीपछि यहाँको संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता छ । कम्तीमा दुई चिकित्सकको व्यवस्थापन गरिएको छ । हाल दरबन्दीमा एक चिकित्सक मात्र छन्”, उनले भने । नियमित चिकित्सक बस्दा सेवाग्राहीमा अस्पतालप्रति राम्रो सन्देश जाने हमाल बताउछन् ।
गलकोट–५ र ६ बाहेक ताराखोला गाउँपालिकालाई पायक पर्ने प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति हुँदा नगरपालिकाका सबै सेवाग्राहीले सेवा लिन सक्ने छन् । नगरपालिकाले स्वास्थ्य मन्त्रालयलाई ‘ओएनएम’ सर्भे गरिदिन आग्रह गरेको छ । उक्त अस्पतालमा नियमित उपचारका साथै शल्यक्रिया सेवा पनि सञ्चालनमा छ । यहाँ दैनिक ५० देखि ६० बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ ।
“तीन वर्षअघि निर्णय भएपनि पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर बल्ल अस्पताल बनाउन लागेका छौँ”, नगरप्रमुख भरत शर्मा गैरेले भने । नगरपालिकाले आन्तरिक स्रोतबाट जनशक्तिको व्यवस्थापन गरेको हो । अस्पताल बन्नका लागि १५ शय्या, एक विशेषज्ञसहित तीन चिकित्सकलगायत स्वास्थ्यकर्मीको दरबन्दी चाहिन्छ । जनस्वास्थ्य निरीक्षक देवप्रकास घिमिरे फेयरमेड फाउण्डेसन र ग्रामीण स्वास्थ्य सुधार परियोजनाले उपकरणका लागि सहयोग गरेको बताउछन् । रासस