काठमाडौं, माघ १३ । राहदानी विभागले सेवाग्राहीको भीड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ ।
राहदानी लिन विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भीड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जानकारी दिएको छ ।
विभागमा सधैं सेवाग्राहीको भीड बढ्दै जान थालेका कारण घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता द्रुपदा सापकोटाले बताइन् ।
उनले भने, ‘सेवाग्राहीको घण्टौं लामो लाइन तथा भीड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेका छौं तर कस्तो किसिमको कार्ययोजना बनाउने त्यस विषयमा गृहकार्य हुँदै छ ।’
कार्ययोजनाको खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि कार्यान्वयन हुने प्रवक्ता सापकोटाको भनाइ छ ।
राहदानी विभागमा अबका २र३ महीनामा देखिने गरी सुधार हुने उनको दाबी छ । विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले सेवाग्राही घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेले भीड व्यवस्थित गर्न निर्देशन दिएका थिए । राहदानी विभागबाहिर राहदानी बनाउनेको भीड अहिले पनि उस्तै रहेको बताइएको छ ।