Logo

विप्रेषणबाट जीवनस्तर सुधार, दुई तिहाइको घरखर्च मात्रै



काठमाडौं, माघ १३ । चितवन स्थायी घर बताउने बिन्दु अर्याल छ वर्षीया छोरीसहित काठमाडौँमा भाडामा बस्छिन । उनका पति दिनेश न्यौपाने भने विगत पाँच वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन् । प्रत्येक वर्ष एक महिना घर बिदामा नेपाल आउने न्यौपानेले काठमाडौँमा कोठा भाडामा लिएर छोरीसहित बस्ने श्रीमती र छोरीको सबै खर्च धान्नुपर्छ ।

कास्की स्थायी घर भएकी रीता अधिकारी पनि काठमाडौँमै बस्छिन् । उनका श्रीमान् कैलाश थापा वैदेशिक रोजगारीका क्रममा दुई वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा छन् । थापासँग प्रेम विवाह गरेकी अधिकारीको काठमाडौँको कोठा भाडादेखि बस्ने, खानेलगायतका सबै खर्च थापाको कमाइबाट हुन्छ ।

वैदेशिक रोजगारी र त्यसबाट प्राप्त हुने विप्रेषणले परिवारको आर्थिक, सामाजिक, शैक्षिक रूपमा सकारात्मक परिवर्तन आएको विभिन्न अध्ययनले देखाएका छन् तर यसले केही परिवार र समाजमा नकारात्मक असर पनि पारेको छ ।

राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वैदेशिक रोजगारीले गरिबी निवारण र सामाजिक सुरक्षामा पारेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन, २०७९ ले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको धेरै हिस्सा परिवारको पालनपोषणमै खर्च हुने गरेको छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिको कमाइमध्ये ३५ प्रतिशत खाना र घर भाडामा, कपडा÷शृङ्गारमा २० प्रतिशत, बालबच्चाको शिक्षामा १५ प्रतिशत, घुमफिरमा २० प्रतिशत र १० प्रतिशत स्वास्थ्य उपचारमा खर्च हुने गरेको सो अध्ययनमा उल्लेख छ ।

परामर्शदाता डा। चन्द्रप्रसाद ढकाल नेतृत्वको समूहले काठमाडौँ जिल्लाका काठमाडौँ महानगरपालिका–१४, कीर्तिपुर नगरपालिका–२, तारकेश्वर नगरपालिका–५ र चन्द्रागिरि नगरपालिका–९ बाट २५र२५ जना गरी एक सय जना वैदेशिक रोजगारीमा गएका परिवारसँग गरिएको विश्लेषणात्मक अध्ययनमा यस्तो पाइएको हो ।

सो प्रतिवेदनअनुसार विप्रेषणका कारण वैदेशिक रोजगारीमा गएका ७० प्रतिशत व्यक्तिको घरपरिवारको आर्थिकस्तरमा परिवर्तन भएको छ भने ३० प्रतिशत परिवारको आयस्तरमा परिवर्तन हुन सकेको छैन । वैदेशिक रोगगारीमा गएकामध्ये ४० प्रतिशतले वार्षिक तीन लाखदेखि चार लाख रुपियाँसम्म कमाउने गरेका छन् भने २५ प्रतिशतले तीन लाख रुपियाँसम्म, २५ प्रतिशतले चार लाखदेखि पाँच लाख रुपियाँसम्म र १० प्रतिशतले पाँच लाख रुपियाँमाथि कमाउने गरेको अध्ययनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गएका परिवारको वार्षिक खर्च हेर्दा ३५ प्रतिशतले दुई लाखदेखि तीन लाख रुपियाँसम्म खर्च गर्ने गरेका छन् भने २५ प्रतिशतले दुई लाखसम्म, ३० प्रतिशतले तीन लाखदेखि चार लाख रुपियाँसम्म र १० प्रतिशतले चार लाखभन्दा बढी खर्च गर्ने गरेको अध्ययनले देखाएको छ ।

त्यसैगरी अध्ययनमा वैदेशिक रोजगारीमा गएका व्यक्तिको पारिवारिक बचतको अवस्था हेर्दा २५ प्रतिशतको विदेशमा कमाएको भन्दा बढी खर्च भएको पाइएको छ भने ७५ प्रतिशतले भने केही अंश बचत गर्न सकेको उल्लेख छ । सो अध्ययनअनुसार वैदेशिक रोजगारीमा जानेको देशगत रूपमा हेर्दा खाडी मुलुकमा ६० प्रतिशत गएको देखिन्छ भने भारतमा २० प्रतिशत, दक्षिण कोरिया ७ प्रतिशत, युरोपरअमेरिका, जापानमा ५/५ प्रतिशत र अन्यमा ३ प्रतिशत गएका छन् ।

सो अध्ययनमा वैदेशिक रोजगारीमा जाने क्रममा तिरेको लागत हेर्दा ५० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म तिर्ने ३५ प्रतिशत, एक लाखदेखि दुई लाख रुपियाँसम्म तिर्ने ४० प्रतिशत र दुई लाखभन्दा माथि तिर्ने २५ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा जाने रकमको स्रोतको अवस्था हेर्दा ३५ प्रतिशत साहुबाट, २५ प्रतिशत बैङ्कमा धितो राखेर घरका पशुचौपाया बेचेर र अन्य विकल्पबाट २५/२५ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ । वैदेशिक रोजगारीमा गएकामध्ये ४५ प्रतिशत पाँच वर्षभन्दा बढी बस्ने गरेको पाइएको छ भने दुई वर्षदेखि पाँच वर्षसम्म बस्ने ३५ प्रतिशत र दुई वर्षभन्दा कम बस्ने २० प्रतिशत रहेको पनि सोही अध्ययनमा उल्लेख गरिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot