Logo

गृहमन्त्री लामिछानेको नागरिकता कसरी निष्क्रिय ? के छ कानुनी प्रावधान…



काठमाडौं, १३ माघ । उपप्रधान एवं गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी परेको रिटमा सुनुवाइ जारी छ । गत बुधबार सुनुवाइ नसकिएपछि हेर्दाहेदैमा राखिएको उक्त मुद्धामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा भएको संवैधानिक इजलासमा उनको नागरिकता विवादको सुनुवाइ भइरहँदा सर्वसाधरणले फैसलाको बारेमा विभिन्न अनुमान लगाउन थालेका छन् ।

गृहमन्त्रीसमेत रहेका रबि नेपाली मूलका अमेरिकी नागरिक भएको रिट निवेदकका अधिवक्ताहरुको जिकिर छ । सरकारी वकिलले भने कुनै पनि व्यक्ति अनागरिक हुन नसक्ने भन्दै नागरिकता पुनः प्राप्तिको प्रकृया सारवान कानुन नभएर केवल कार्यविधिमात्रै भएकाले उनको नागरिकतामा विवाद नरहेको तर्क गरेका छन् । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बुधबारको संवैधानिक इजलासमा भारतमा विवाह गरेकी किरण गुप्ताको मुद्धा गृहमन्त्री लामिछानेको मुद्धासँग मिल्ने भन्दै नजीर प्रस्तुत गरे । नेपालमा जन्म भएर नेपालमै हुर्किएकी किरणले भारतीय नागरिकसँग बिहे भएपछि भारतीय आधार कार्ड बनाएकी थिइन् । सन् २०१८ मा ग्राम विकास समितिको मुखियामा निर्वाचित भएपछि उनीमाथि मुद्धा परेको र निर्वाचन आयोगले २०१६ मा नेपालको नागरिकता त्याग गरेको र भारतीय नागरिकता लिन प्रकृया नगरेकाले भारतीय नागरिक भन्न नमिल्ने भन्ने व्याख्या गरेको भन्दै उनले अन्तराष्ट्रिय अभ्यासलाई प्रस्तुत गरेका थिए । उनले रबिले नागरिकता पुनः प्राप्तिको प्रकृयमा जानुपर्ने र अहिले कायम रहेको उनको सांसद पद खारेज हुने तर्क गरेका थिए ।

गृहमन्त्री लामिछानेको मुद्धामा नागरिकता ऐन २०६३ को दफा १० र ११ आकर्षित हुन्छ । दफा १० मा प्रष्टरुपमा भनिएको छ, कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम हुन सक्दैन । सोही ऐनको दफा ११ मा भनिएको छ, कुनै नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएको कुनै व्यक्तिले विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारी समक्ष दर्ता गराउनु पर्ने र त्यस्तो निस्सा दर्तापछिमात्रै नेपाली नागरिकता पुनः कायम हुने उल्लेख गरिएको छ । आधारमा गृहमन्त्री लामिछानेको नागरिकता अहिले पनि निस्कृय छ । नेपालको संविधान २०७२ को भाग–८, धारा ८७ (१) (क) को व्यवस्थाअन्तर्गत पनि उनी संघीय सांसदको उम्मेदवार बन्न पाउँदैनन् ।

नागरिकता ऐन २०६३

दफा १०, नेपाली नागरिकता कायम नरहनेः (१) नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।

दफा ११, पुनः नेपाली नागरिकता कायम हुनेः कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आइ बसोबास गरेको र विदेशी नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।



प्रतिक्रिया दिनुहोस्