Logo

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड



काठमाडौँ,१३ माघ । बडिगाड गाउँपालिकामा क्षयरोगीका बिरामी बढ्दै गएका छन् । पछिल्लो पाँच महिनायता बडिगाड गाउँपालिकामा ३६ जनामा क्षयरोग पहिचान भएको छ ।

अघिल्लो आर्थिक वर्षमा जिल्लाभरी एक सय ८५ जनामा सङ्क्रमण देखिएको थियो । तीमध्ये ५६ जना बडिगाड गाउँपालिकाकै थिए ।

साउनयता गरिएको परीक्षणमा जिल्लाभर ८७ जना नयाँ सङ्क्रमित पहिचान हुँदा बडिगाडका मात्रै ३६ जना रहेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । अघिल्लो वर्ष पहिचान भएकामध्ये केही नियमित औषधि सेवनपछि सङ्क्रमणमुक्त भएका छन् ।

“अन्य पालिकामा सङ्क्रमित सङ्ख्या घटे पनि बडिगाडमा सङ्मितको सङ्ख्यासँगै मृत्युदरसमेत बढेको छ”, घिमिरेले भने । गत आर्थिक वर्षमा जिल्लाभर छ जना क्षयरोगका बिरामीको मृत्यु हुँदा बडिगाडका चार जना थिए ।

स्वास्थ्य कार्यालयले गरेको नमूना परीक्षणमा बडिगाडमा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो भेटिएपछि गाउँपालिकाले सक्रिय खोजपड्ताल विधिद्वारा बिरामी पहिचान थालेको थियो । पालिकाले सञ्चालन गरेको क्षयरोगी पहिचान कार्यक्रमअन्तर्गत आठ जना बिरामी फेला परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र केसीले जानकारी दिए ।

पालिकाको स्वास्थ्य शाखा, धौलागिरि अस्पताल बागलुङ र पोखराका विभिन्न अस्पतालमा गरिएको परिक्षणमा ३६ जना नयाँ बिरामी थपिएका छन् ।

क्षयरोगका बिरामी बढी भएका वडा नं २, ४, ५ र ६ मा स्वास्थ्य शाखाले ‘क्षयरोगीको खोजी’ अभियान नै सञ्चालन गरेको छ । अभियानका क्रममा शङ्कास्पद दुई सय ३७ को खकारको नमूना सङ्कलन गरी परीक्षण गरिएको केसीले बताए । वडा नं ३ र ९ मा भने सङ्क्रमित भेटिएका छैनन् ।

क्षयरोगीको खोजपड्ताल कार्यक्रमअन्तर्गत पुराना क्षयरोगी तथा उनीहरुको सम्पर्कमा आएका शङ्कास्पद व्यक्तिको खकारको नमूना सङ्कलन गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको उनको भनाइ छ । “यो सङ्ख्या बडिगाडमा देखिएको डरलाग्दो नमूना हो तर बडिगाडमा किन क्षयरोगीको सङ्ख्या बढ्दो छ भन्ने खोजीमै छौँ”, उनले भने ।

वडा नं २, ४, ५ र ६ मा फोक्सोका क्षयरोगी धेरै भेटिएकाले खोजपड्ताललाई सक्रिय बनाउनुपरेको केसीले बताए । सङ्क्रमण पुष्टि भएका बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि खुवाउन थालिएको छ । “स्वासप्रश्वासको माध्यमबाट फैलिने भएकाले हामीले बिरामीलाई सजग रहन र नियमित औषधि सेवन गर्न लगाएका छौँ”, केसीले भने । वडा नं २, ५, ७ र ९ मा प्रयोगशाला सञ्चालन गरेर क्षयरोग र मधुमेह परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गाउँपालिकाले पहिचान गरेका र औषधि उपलब्ध गराएकाबाहेक पोखरा, काठमाडौँलगायतका अस्पतालमा क्षयरोग पहिचान भएका बिरामीको सङ्ख्या पनि धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालमा पहिचान भएका बिरामीले सोही अस्पतालबाट परामर्श र औषधि लिने गरेका छन् । रासस

 



प्रतिक्रिया दिनुहोस्