Logo

आधाले घट्यो खाद्यान्न आयात



काठमाडौं, माघ १४ । चालू आर्थिक वर्षको मध्यसम्ममा चामल आयात आधाले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना (साउन–पुस)सम्ममा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपैयाँको चामल आयात भएको छ । गत वर्ष सो अवधिमा १७ अर्ब ६० करोड ६८ लाख एक हजार रुपैयाँको चामल आयात भएको थियो ।

भारतले गत भदौ महिनामा चामलको निर्यातमा लगाएको कर, विदेशी मुद्रा बचत गर्न आयातमा गरिएको प्रतिबन्ध र नेपाल राष्ट्र बैङ्कले एलसी (प्रतीतपत्र)मा नगद मार्जिनको व्यवस्था गरेका कारण चामलसँगै अन्य खाद्यान्नको आयातमा कमी आएको हो ।

आन्तरिक आपूर्तिलाई बलियो बनाउनका लागि भन्दै भारतले गत भदौ महिनामा चामल निर्यातमा २० प्रतिशत कर लगाएको थियो । त्यसको प्रभावले आयातमा कमी आएको छ ।

यो वर्ष धानको उत्पादन बढेकाले पनि आयातमा कमी देखिएको हो । छिमेकी मुलुक भारतबाट ठूलो परिणाममा चामल आयात हुने गर्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले आयातमा गरिएको कडाइका कारण चालू आर्थिक वर्षको सुरुदेखि नै खाद्यान्न आयातमा कमी आएको बताए ।

भारतले धान र चामलमा कर बढाएका कारण आयातमा कमी आएको उहाँले जानकारी दिनुुभयो । नेपालीको खाने बानीमा आएको परिवर्तन, मौज्दात र धानको उत्पादन बढेका कारण पनि आयातमा कमी भएको उनको भनाइ छ । उनले भने, “नेपाली उपभोक्ता पछिल्लो समय भातसँगै अन्य खाद्यान्नको प्रयोग बढी गर्न थालेका कारण खपतमा कमी आई चामल आयात घटेको हुन सक्छ । यसले गर्दा व्यापार घाटामा कमी भई स्वदेशी उत्पादनमा आत्मनिर्भरतर्फ गएको सङ्केत देखिन्छ ।”

विभागका अनुसार छ महिनामा नौ अर्ब ७३ करोड ४९ लाख १० हजार रुपैयाँ बराबरको धान र धानको बीउ आयात भएको छ । गत वर्ष सो अवधिमा १० अर्ब ४० करोड ६६ लाख सात हजार रुपैयाँको धान आयात भएको थियो । यस्तै मकैको आयातमा पनि कमी आएको छ । चालू आर्थिक वर्षको छ महिनामा आठ अर्ब ८१ करोड ५९ लाख ६६ हजार रुपैयाँको मकै आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ११ अर्ब ७१ करोड ९३ लाख ४२ हजार रुपैयाँ बराबरको मकै आयात भएको थियो ।

यसै अवधिमा ६६ करोड रुपैयाँको गहुँ आयात भएको छ । गत आर्थिक वर्ष तीन अर्ब ४६ करोड ६२ लाख ७६ हजार रुपैयाँको गहुँ आयात भएको थियो । गत जेठदेखि भारतले गहुँ आयातमा प्रतिबन्ध लगाएका कारण आयातमा कमी आएको हो ।

चालू आर्थिक वर्षको छ महिनामा २७ अर्ब ९१ करोड ८२ लाख २४ हजार रुपैयाँ बराबरको खाद्यान्न (चामल, मकै, गहुँ, धान, जौ, कोदो) आयात भएको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा ४२ अर्ब ७२ करोड ४५ लाख ७० हजार रुपैयाँको खाद्यान्न आयात भएको थियो । बर्सेनि खाद्यान्नको आयात बढ्दै गए पनि यो वर्ष सुरुदेखि नै आयातमा कमी हुँदै आएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्