काठमाडौं, १४ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको बताएका छन् ।
‘नेपालको इतिहासमा कोही कोही बेला न्यायपालिकाले मुलुकको अस्तित्व धान्ने, राष्ट्रियता बचाउने फैसला गर्ने गरेको छ । सर्वोच्च अदालतको फैसलालाई हाम्रो पार्टीले हार्दिक स्वागत गरेका छौं । रवि लामिछानेलाई मैले संसद्को रोस्ट्रममा उभिएर र व्यक्तिगत रुपमा भेटेर पनि तपाईं कसमेकम नेपाली नागरिक त हुनोस्, अमेरिकी र नेपाली दुवै नागरिक भएर मुलुकको नेतृत्व कसरी गर्नुहुन्छ, जनतालाई किन भ्रम पार्नुहुन्छ भनेको थिएँ । तर उहाँले सुन्नुभएन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले भने ।
लामिछानेलाई नेपाली र अमेरिकी पासपोर्ट लिएर हिँड्ने अधिकार नभएको पनि उनले औंल्याए । केसीले भने, रवि लामिछानेले पत्रकारिता गर्दा म पनि उहाँप्रति आकर्षित थिएँ । तर उहाँ त नेपाली र अमेरिकी दुईतिरको पासपोर्ट लिएर बस्नुभएको रहेछ । रवि भनेको अमेरिकन साम्राज्यवादको प्रतीक हो । पासपोर्टको पनि न्यायपूर्ण छिनोफानो हुनुपर्छ । नेपालमा मनपरी गर्न पाइँदैन ।’ रविको नागरिकता प्रकरणमा निर्वाचन आयोग र काठमाडौं जिल्ला प्रशासन दुवैको बदमासी रहेको पनि उनले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले के रवि लामिछानेलाई फेरि मन्त्री बनाउनु होला भन्ने धमलाको प्रश्नमा केसीले भने, ‘प्रचण्ड थपना मात्र हो । उहाँलाई त खड्गप्रसाद ओलीजीले बनाएको हो नि । वास्तविक प्रधानमन्त्री ओलीजी हो, प्रचण्डलाई त देखाएको मात्र हो । यो कुरा ओलीले नै गर्ने हो ।’
प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिनेमा पनि उनले आशंका प्रकट गरे । केसीले भने, ‘प्रचण्डजी त पाँचदलीय गठबन्धनलाई धोका दिएर रातारात बालकोट पुगिहाल्नुभयो नि । उहाँ आफूलाई जता पदको सोर् याक पर्छ, त्यतै फुङ हाल्नुहुन्छ । त्यसैले यसै भन्न सकिँदैन ।’