Logo

मोजाम्बिकमा वर्षाले गर्दा ७५ जनाको मृ्त्यु



एजेन्सी । मोजाम्बिकमा गत अक्टोबरदेखि सुरु भएको वर्षायाममा देखिएका मौसमी घटना र प्राकृतिक प्रकोपका कारण करिब ७५ जनाको ज्यान गएको स्थानीय दैनिक पत्रिका जर्नल नोटिसियाले शुक्रबार उल्लेख गरेको छ।

सबैभन्दा बढी मृत्यु मनिका र जाम्बेजियाको केन्द्रीय प्रान्तमा भएको थियो।

‘वर्षा र तीव्र हावा, चट्याङ र जङ्गलमा लागेको डढेलाका कारण ९० जना घाइते भएका छन् र चार हजार एक सय १९ घर पूर्णरूपमा ध्वस्त भएका छन्। अन्य तीन हजार तीना सय ५६ घर जलमग्न भएका छन्,’ प्रतिवेदनमा उल्लेख छ।

अक्टोबरदेखि हालको सातासम्म मौसमी घटनाले ५६ हजार नौ सय ३० विद्यार्थी र नौ सय ४० शिक्षकका साथै देशभरका एक हजार नौ सय १७ किलोमिटर सडकलाई पनि असर गरेको प्रतिवेदनले जनाएको छ।

जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये यो देश पनि प्रमुख हो। यहाँ हिन्द महासागरबाट उष्णकटिबन्धीय चक्रवातहरू र दक्षिणी अफ्रिकाको हाइड्रोग्राफिक बेसिनहरूमा हुने बाढीबाट यहाँ विशेष खतरा छ।

मोजाम्बिकमा गत वर्षाको मौसममा आएको प्राकृतिक प्रकोप, उष्णकटिबन्धीय चक्रवात गोम्बेका कारण एक सय ४२ जनाको मृत्यु भएको थियो।



प्रतिक्रिया दिनुहोस्