Logo

इरानद्वारा ऐतिहासिक इस्लामिक नेतालाई लिएर इजिप्टको टिभी नाटकमाथि प्रतिबन्ध



तेहरान, १६ वैशाख । इरानी अधिकारीहरूले ऐतिहासिक ‘विकृति’ र ‘पक्षपातपूर्ण दृष्टिकोण’ लाई लिएर मध्ययुगीन एक फारसी व्यक्तित्व चित्रित गर्ने इजिप्टको टिभी शृङ्खलामाथि प्रतिबन्ध लगाएको सरकारी सञ्चारमाध्यमले आइतबार बताएको छ ।

‘द एसान्सिस’ (अरबी भाषामा एल–हशाशिन) ले ११औँ शताब्दीमा रक्तपातपूर्ण राजनीतिक हत्याका लागि परिचित शिया मुस्लिम सम्प्रदायका विवादास्पद संस्थापक हसन–इ सब्बाहको कथा बताउँछ ।

उत्तरी र पश्चिमी इरानका पहाडी आधारहरूबाट सञ्चालन गर्ने सब्बाह र उनका हत्याराहरूको समूहका बारेमा ३०–इपिसोडको शृङ्खला पहिलो पटक यस महिनाको प्रारम्भमा समाप्त भएको पवित्र मुस्लिम महिनामा प्रसारण गरिएको थियो ।

त्यसबेलादेखि उक्त कार्यक्रमले मध्यपूर्वमा लोकप्रियता हासिल गरेको छ तर तेहरानको दृश्य–श्रव्य मिडिया नियामक निकायका प्रमुख मेहदी सेफीले भने, “एल–हशाशिन” शृङ्खलाको प्रसारण अब इरानमा स्वीकृत छैन ।”

आधिकारिक आइआरएनए समाचार एजेन्सीले सेफीलाई उद्धृत गर्दै भनेको छ, “इस्लामिक इतिहासको यो कथामा धेरै विकृतिहरू समावेश छन् र यसलाई पक्षपातपूर्ण राजनीतिक दृष्टिकोणका साथ तयार गरिएको जस्तो देखिन्छ ।”

शृङ्खलाले ‘इरानीहरूको गलत छवि’ देखाएको भन्दै आइआरएनएले यसले इरानीहरूलाई ‘आतङ्कवादको सुरुआत’ सँग जोड्ने प्रयास गरेको छ भन्ने विशेषज्ञहरूको तर्कलाई उद्धृत गरेको छ । अर्को समाचार एजेन्सी आइएसएनएले उक्त शृङ्खला ‘सत्यको परिमार्जन र मिथ्याकरण’ को एउटा ‘उत्तम उदाहरण’ भएको बताएको छ ।

सब्बाहको कुख्यात पौराणिक कथाहरू र मध्ययुगीन आदेशले वर्षौंदेखि कथा साहित्यका धेरै कामलाई प्रेरित गरेको छ । सब्बाहको समूह बसेको अलामुत महलको अवशेष हाल उत्तरी इरानमा पर्यटकीय गन्तव्य हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot