Logo

छ सय अठतीसले लिए आर्थिक सहायता



काठमाडौं, माघ १५ । कास्कीका वेदप्रसाद लामिछानेको रोजगारीका लागि साउदी अरब गएको ११ महिनामा मृत्यु भयो । दिनभर काम गरेर राति सुतेकै अवस्थामा लामिछानेको मृत्यु भएकाले प्राकृतिक मृत्यु भनेर शव नेपाल पठाइयो । श्रम स्वीकृति लिएरै विदेश गएकाले उनको परिवारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट सात लाख रुपैयाँ र बीमाबापत १० लाख गरी १७ लाख रुपैयाँ प्राप्त गरे ।

दुई वर्षअघि भ्रमण भिसामा संयुक्त अरब इमिरेट्स (यूएई)मा गएका चितवनका महेश अधिकारीको सडक दुर्घटनाका कारण मृत्यु भयो । यूएईको स्टार होटलमा काम गर्ने अधिकारीको काम गरुन्जेल कमाइ राम्रै भए पनि भ्रमण भिसामा गएर काम गरेकाले उनको परिवार कल्याणकारी कोष र बीमाबाट प्राप्त गर्ने रकम लिनबाट वञ्चित भयो ।

वैदेशिक रोजगार बोर्डका निर्देशक मैया कँडेलले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई भ्रमण भिसामा जानेलाई हामीले चाहेर पनि आर्थिक सहायता रकम दिन नसक्ने बताईन् । श्रम स्वीकृति लिएर गएका, श्रम स्वीकृति लिएको करार अवधि सकिएको पनि एक वर्ष कटेकालाई आर्थिक सहायता दिन नमिल्ने व्यवस्था रहेको जानकारी गराउँदै उनले भनिन्, “विदेशमा काम गर्न जाँदा श्रम स्वीकृति लिएर जानुपर्छ र श्रम स्वीकृति लिएर पनि करार अवधि सकियो भने पनि दूतावासबाट दुई पटकसम्म पुनः श्रम स्वीकृति लिन सकिन्छ ।”

श्रम स्वीकृति लिएर दुई वर्षको करार गरेर खाडी र मलेसिया जानेले वैदेशिक रोजगार कल्याणकारी कोषमा दुई हजार पाँच सय रुपियाँ जम्मा गर्नुपर्छ भने दुई वर्षभन्दा माथिको करार अवधिमा दक्षिण कोरिया, इजरायललगायतमा जानेले प्रतिव्यक्ति तीन हजार पाँच सय रुपियाँ जम्मा गर्नुपर्छ ।

निर्देशक कँडेलले श्रम स्वीकृति नलिई विदेशमा गएर मृत्यु भएका श्रमिकको हकमा सम्बन्धित श्रमिकको घरसम्म निःशुल्क शव ढुवानी गरिदिनेबाहेक अन्य आर्थिक सहायता गर्ने कानुनी व्यवस्था नभएको बताईन् । “भ्रमण भिसामा गएर विदेशमा मृत्यु भएका र करार अवधि सकिएपछि विदेशमा मृत्यु भएका श्रमिकका परिवारका सदस्य आर्थिक सहायताका लागि आउनुहुन्छ तर हामी दिन सक्दैनौँ, कानुनमा नभएको व्यवस्था के गर्ने ?” कँडेलले प्रतिप्रश्न गरिन् ।

बोर्डका अनुसार चालू आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवार वा अङ्गभङ्ग भएर फर्किएका गरी ६३८ जनाले बोर्डबाट आर्थिक सहायताबापत प्रतिव्यक्ति सात लाख रुपियाँ लिएका छन् ।

आव २०७९र८० को साउनदेखि माघ महिनासम्म विदेशमा मृत्यु भएका परिवार र रोजगारीकै क्रममा अङ्गभङ्ग भएर फर्किएका श्रमिकलाई कल्याणकारी कोषबाट २६ करोड १४ लाख ५० हजार रुपियाँ प्रदान गरेको बोर्डको सचिवालयले जनाएको छ । बोर्डका अनुसार ६४ जना अङ्गभङ्ग भएर फर्किएकासहित ६३८ जनाले आर्थिक सहायता लिएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot