काठमाडौं, १६ माघ । ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले जिल्लाको साँघुटार–घोराखोरी सडक कालोपत्रे गर्ने ठेक्का लागेको ६ वर्षसम्म कुनै काम नगरी अलपत्र पार्ने ठेकेदारको विरुद्धमा कडा टिप्पणी गरेकी छिन् । उनले सो सडक बनाउने ठेक्का पाएका पुर्णबहादुर तामाङ (कान्छाराम)को फोटोसहित संसदमा कुरा उठाउन ओखलढुंगाका सांसद रामहरी खतिवडालाई आग्रह गरेकी छिन् ।
लिखु गाउँपालिका वडा नम्बर २ सिंहदेवीमा आज (सोमबार) आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले यस्तो आग्रह गरेकी हुन् । उनले ओखलढुंगाको विकास अलपत्र पार्ने ठेकेदार सांसद कान्छारामको फोटो निकालेर संसदमा आवाज उठाइदिन आग्रह गरेकी हुन् ।
सम्बोधनको क्रममा उनले भनिन्–‘यत्रो वर्षसम्म यो सडकको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायी प्रतिनिधि पनि संघीय संसदमा हुनुहुन्छ भन्ने सुनेको छौं । ओखलढुंगाको विकास अलपत्र पार्ने,सडयक अलपत्र पार्ने माननीयज्यूको फोटो निकालेर संसदमा आवाज उठाइदिनुस् ।’
२०७३ सालमा सो सडक कालोपत्रेका लागि कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पारेको थियो । विभिन्न समस्या देखाउँदै सो कम्पनीले अहिलेसम्म पनि कालोपत्रे सुरु गरेको छैन । कम्पनीका मालिक कान्छाराम तामाङ रामेछापबाट सांसद निर्वाचित भइसकेका छन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।