काठमाडौं, १६ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले गृहमन्त्रालय अब माओवादीले राख्ने दाबी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले सरकारको नेतृत्व गरेको दलले गृह, अर्थ, कानून र परराष्ट मन्त्रालय लिनुपर्नेमा अहिले यी चार मन्त्रालय माओवादीको नेतृत्वमा नरहेको सुनाए । उनले अहिले कारणवश गृहमन्त्रालय खाली भएकोले सो मन्त्रालयको नेतृत्व माओवादीले लिने सुनाए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई गृहमन्त्री बनाउन सिफारिश गर्नु स्वभाविक भएको बताए ।
तर, अहिले रवि लामिछाने सांसद नभएको र परिस्थिति आज बदलिएको उनको टिप्पणी छ । उनले रवि लामिछानेले अरुलाई नैतिकताको पाठ सिकाउने गरेको स्मरण गराउँदै अब आफू पनि नैतिकता पालना गर्नुपर्नेमा जोड दिए । उनले भने,”केपीजीलाई लाग्यो होला, कि गृहमन्त्रालय रविजीलाई दिनुपर्छ भन्ने लाग्यो होला, लाग्न त पाईयो नि ।”
पत्रकार धमलाले अहिलेको सरकारको सूत्रधार आफू भएको भन्दै केपी ओलीले रविलाई गृहमन्त्री बनाउन खोज्नुभएको छ नि ? भनेर सोधेको प्रश्नमा उनले भने-“सूत्रधार म हुँ भन्ने हो भने, त्यसो हो भने सबै चीज उहाँले चलाउनुपर्यो नि । ए, प्रधानमन्त्री डमी हो ? प्रधानमन्त्री बुख्याँचा हो ?”