बखतियार अलि
सर्लाही, माघ १७ । सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आफ्नो पालिका अन्तर्गतका बृद्धबृद्धा, एकल महिला तथा अशक्तहरुलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता बितरणको सुरुवात गरेको छ । गाउँपालिका प्रमुख कृष्ण कुमार यादवले वडा नं १ शिवनगरमा पुगेर यस कार्यक्रमको उद्घाटन गरेका छन् ।
गाउँ भन्दा टाढा पुगेर भत्ता लिन बृद्धबृद्धा, एकल महिला तथा अशक्तलाई समस्या भएपछि वडामै पुगेर भत्ता बितरण कार्यक्रमको सुरुवात गरिएको हो । बैंकका कर्मचारी तथा पालिकाका कर्मचारी सम्बन्धित वडामा पुगेर सोमवारदेखि भत्ता बितरण गर्न थालेका छन् ।
पालिकाकामा आएर भत्ता बुझन समस्या भएपछि गाउँमै पुगेर भत्ता बितरण गर्न थालिएको गाउँपालिका प्रमुख कृष्ण कुमार यादवले बताएका छन् । उनले भने, ‘पैदल वा सवारी साधनमा भत्ता बुझन आउँदा बृद्धबद्धालाई निकै समस्या हुने गरेको थियो । मेरै आखाँ अगाडी करिब ३ वर्ष अगाडी मोटरसाइकलमा चढेर भत्ता बुझन आउनु भएका एकजना बृद्धाको मोटरसाइकलबाट लडेर मृत्यु भएको थियो । उक्त घटना देखेपछि आफु चुनाव जितेपछि गाउँमै गएर भत्ता बितरण गर्ने सपना देखेको थिए । मैले देखेको सपना सकार भएको छ । सामाजिक सुरक्षा बुझन अब कसैलाई कठिनाई झेल्नु पर्दैन् ।’
आर्थिक वर्षको पहिलो किस्ताको रकम गाउँमै गएर बितरण गर्ने योजना रहेपनि केही कठिनाईका कारण पहिलो किस्ताको रकम बाँड्न नसकिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत संजिक कुमार यादवले जानकारी दिए । कर्मचारी व्यवस्थापन भएपछि दोस्रो किस्ताको रकम वडामै गएर बितरण गर्न थालिएको अधिकृत यादवले बताए । गाउँमै आएर भत्ता बितरण भएपछि बृद्धबृद्धालाई निकै सहज भएको चक्रघट्टा गाउँपालिकाका भाग्य नारायण महतोले बताए ।
उनले भने, ‘धेरै नै राहत भएको छ । अब बृद्धबृद्धालाई भत्ता बुझन समस्या हुदैंन् । पहिले देखि नै यस्तो कार्यक्रमको सुरुवात गरिनु पर्ने थियो । तर, ढिलो आएपनि राम्रो कामको सुरुवात भएको छ ।