काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न लामिछाने आज बालुवाटार पुगेका हुन् । सो क्रममा उनले गृहमन्त्रालयको नेतृत्व आफ्नो दलले पाउनुपर्ने अडान राखेका थिए । उनले नागरिकता पूनः प्राप्त गरेकोले गृहमन्त्रीमा आफूलाई नै नियुक्त गर्न दाहालसमक्ष दबाब दिएका थिए ।
बालुवाटारनिकट स्रोतकाअनुसार उनले प्रधानमन्त्री दाहाललाई आज साँझ ५ बजेसम्म गृहमन्त्रीमा आफूलाई नियुक्त गर्नको लागि अल्टिमेटम दिएका छन् । त्यतिवेलासम्म नियुक्त नगरे सरकारबाट बाहिरिने उनको चेतावनी छ । लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने दबाब यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दिएका छन् । तर, दाहाल अहिलेसम्म सो मागबारे टसमस छैनन् ।
लामिछाने नेतृत्वको रास्वपाले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने घोषणा गरिसकेको छ। यता प्रधानमन्त्री दाहाल भने कुनैपनि हालतमा गृहमन्त्रालय आफ्नै दलमा राख्न चाहन्छन् । यही प्रकरणले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना बढेको माओवादी केन्द्रका नेताहरुको दाबी छ । उनीहरुले सरकारको नेतृत्व गरेको आफ्नो दलको भागमा एउटापनि महत्वपूर्ण मन्त्रालय नभएको भन्दै गुनासो पोख्दै आएका छन् ।
अहिले रवि लामिछाने पदमुक्त भएपछि उपयुक्त अवसर आएको भन्दै अब माओवादीले गृहमन्त्रालयको नेतृत्व गर्नुपर्ने उनीहरुको भनाई छ । रविले गृहमन्त्रालयको नेतृत्व आफूले पाउनुपर्ने भन्दै फिल्मी शैलीमा ५ बजेसम्मको अल्टिमेटम दिएपछि प्रधानमन्त्री प्रचण्ड रिसले चुर भएका छन् । उनी अब गठबन्धनको मोहमा नपरी आफ्नै ढंगले अघि बढ्नेगरि परामर्शमा जुटेका छन् ।