काठमाडौं, १८ माघ । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले सत्ता गठबन्धनको समझदारी अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीकै भागमा पर्ने बताएकी छन् ।
‘उच्चस्तरीय राजनीतिक संयन्त्रमा नयाँ समझदारी भएको छैन । हिजोको समझदारी अनुसार गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको हो । अरु पार्टीको भागमा परेको मन्त्रालयमा यो वा त्यो व्यक्ति पठाऊ भन्नु शोभनीय हुँदैन । को पठाउने सम्बन्धित पार्टीको कुरा हो । कुनै पात्रलाई पठायो भने हामीले किन पठाइस् भन्न मिल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्यालले भनिन् ।
नागरिकताको मुद्दामा सजाय पाइसकेकाले रवि लामिछानेलाई फेरि दण्डित गर्न नमिल्ने उनले औंल्याइन् । अर्यालले थपिन्, ‘नागरिकताका सम्बन्धमा रविजीले सजाय पाइसक्नुभएको छ । उहाँको पार्टी सभापति, सांसद, मन्त्री पद त गयो नि । एउटा केसमा पटक पटक सजाय दिन मिल्दैन । नेपालको कानुन अनुसार प्रक्रिया पूरा गरेर दिएको नागरिकतामा फेरि किन विवाद गर्ने ? उहाँले अघिल्लो नागरिकताका आधारमा लिएको पासपोर्ट त्यागिसक्नुभएको छ । यस्ता कुराको फैसला सडकबाट हुने होइन, नियमनकारी निकायबाट हुने हो ।’
रविको राहदानीका विषयमा अनुसन्धान हुन सक्ने भए पनि यस्तो हुन्छ रे भनेका आधारमा निष्कर्षा पुग्न नहुने उनको जिकिर छ । स्वार्थ बाझिएको मन्त्रालयमा रविलाई पठाउन एमालेले किन दबाब दियो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, ‘गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय प्रधानमन्त्रीले गर्ने हो । तर हिजो उच्चस्तरीय संयन्त्रले गरेको भागबन्डामा गृह मन्त्रालय त राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको हो नि । कसैको दबाबमा भएको भन्ने कुरा सत्य होइन । अहिले आएर फलाना वा ढिस्कानाको कारणबाट भन्न मिल्दैन । संयन्त्रमा मन्त्रालय फेरबदलको एजेन्डा नआएकाले जे पूर्वसमझदारी हो, त्यही गर्नुपर्छ ।’