काठमाडौँ,१८ माघ । विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ । विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको हो ।
मङ्गलबार महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र वडा नं १ का अध्यक्ष काजीबहादुर बस्नेतको उपस्थितिमा प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । महानगरले सोही अध्ययन प्रतिवेदनका आधारमा पार्क निर्माण गर्नेछ ।
छ कठ्ठा क्षेत्रफलमा फैलिने उक्त पार्कमा अत्याधुनिक प्रवेशद्वारसहित स्वीमिङ पुल, जीपलाइन, भुलभुलैया, पार्किङ, कफीसप, फाउन्टेनलगायतका सुविधा हुनेछन् । महानगरले चालु आर्थिक वर्षका लागि रू एक करोड रकम विनियोजन गरेको छ ।
प्रमुख कोइरालाले जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम गर्ने बताउदै १० दिनभित्र अन्तिम अध्ययन प्रतिवेदन बुझाउन परामर्शदातालाई निर्देशनसमेत दिए ।
प्रतिवेदनले अन्तिम रुप लिएपछि ठेक्का प्रक्रियाबाट काम अगाडि बढाइने छ । रासस