काठमाडौँ, १९ माघ । प्रत्येक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘आजको आवश्यकता : सिमसार क्षेत्रको पुनःस्थापना’ सङ्कल्पका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिमसार दिवसको राष्ट्रियस्तरको कार्यक्रम चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न कार्यक्रम गरी मनाउन लागेको जनाएको छ । त्यस्तै प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयहरूले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरिरहेका छन् ।
सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नुका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्दछ ।
विभागका महानिर्देशक डा महेश्वर ढकालले सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्ने बताए । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायतका प्राकृतिक सौन्दर्यताको अनुभव सिमसारले उपलब्ध गराउने उनको भनाइ छ ।
पछिल्लो समय सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदुषण, पूर्वाधार निर्माण पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको ढकालले जानकारी दिए । जलवायु परिवर्तनको असरले पोखरी सुक्दै गएका कारण पनि सिमसार क्षेत्र संरक्षणमा चुनौती थपिएको छ ।
वन तथा वातावरण मन्त्रालयले सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको जनाएको छ ।
विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।
सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, किटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । त्यस्तै नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये सिमसारमा १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।
विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले सिमसार महासन्धि ९रामसार महासन्धि० सन् १९७१ फेबु्रअरी १ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो ।
रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ । हालसम्म यसमा आवद्ध देशको सङ्ख्या १७० पुगेको छ । साथै दुई हजार ३१४ सिमसार रामसारको सूचीमा सूचीकृत छन् ।
सन् १९८७ डिसेम्बर १७ का दिन नेपालले कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो । रामसार सूचीमा नेपालका कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बीसहजारी तथा आसपासका तालहरु, रारा ताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड तथा आसपासका तालहरु, गोक्यो तथा आसपासका तालहरु, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर छ ।
विभागका उपमहानिर्देशक अजय कार्कीले सिमसार एक गतिशील, विविधतायुक्त र उर्वर पारिस्थितिकीय प्रणाली भएको बताउँदै सिमसार संरक्षणमा सरोकारवाल सबै लाग्नुपर्ने बताए ।
सिमसार जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान प्राकृतिक प्रणाली भएको उल्लेख गर्दै उनले सिमसारले पानीको स्रोत संरक्षण गर्नुका साथै यसको बहाव र गुणस्तर कायम गर्ने बताए । सिमसार क्षेत्रले सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व अभिवृद्धिमा सहयोग पु¥याउनेलगायत जैविक विविधताको दिगो व्यवस्थापनमार्फत् अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याउने उनको भनाइ छ । रासस