काठमाडौं, माघ १९ । दोलखाको कालिन्चोक गाउँपालिकामा भएको आगलागीमा नौ घर जलेर नष्ट भएका छन् । गएराति गाउँपालिकाको वडा नम्बर ९ कटुवाचौर बजारमा भएको भीषण आगलागीमा परी नौ घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।
कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीका अनुसार आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाईं, दुर्गा दाहाल, चित्रप्रसाद सेढाईं, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपिलाल थामी, रामबहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
आगलागी स्थानीय रुद्रबहादुर ओलीको घरबाट सुरु भएको हो । आगलागीबाट लाखौँको क्षति हुनुका साथै पशु चौपाया पनि मरेको प्रहरीले जनाएको छ । आगलागीको र क्षतिको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन् ।