Logo

अब पाइलटले दैनिक आठ घन्टा र बढीमा आठवटा मात्र उडान गर्न पाउने



काठमाडौं, माघ २० ।नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना न्यूनीकरण गर्न पाँचवटा नयाँ नियम जारी गरेको छ । जारी नयाँ नियममध्ये केही तत्काल कार्यान्वयनमा आउनेछन् भने केही आगामी गृष्मकालीन मौसम लागेसँगै कार्यान्वयनमा आउनेछन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको बताए।

उनले भने “उडान सुरक्षालाई ध्यानमा राखेर प्राधिकरणको नियमित प्रक्रियाअनुसार पाँचवटा नियममा परिवर्तन गरिएको छ । सुरक्षा जोखिम व्यवस्थापन, सुरक्षा सुनिश्चितता र सुरक्षा प्रवद्र्धनमा टेवा पुग्ने गरी उडान अवधिमा मानवीय सुरक्षा प्राथमिकतामा राखेर नयाँ नियम लागू गर्न लागिएको हो । नयाँ नियमअनुसार भिजुअल फ्लाइट रुल्स (ककपिटबाट पाइलटले आँखाले हेरेर उडान भर्ने नियम) अनुसार हाल दैनिक १० घण्टा र १० उडान गर्न पाउने प्रावधान रहे पनि अब एउटा पाइलटले दिनमा आठ घन्टा र बढीमा आठवटा मात्र उडान गर्न पाउनेछन् ।’

त्यस्तै जहाज अवतरण गर्दा जमिनबाट एक हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग परिवर्तन गरी जहाज मोड्न पाउँदैनन् । यस्तै पहाडी क्षेत्रमा हुने ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टल) उडान गर्दा जहाज जमिनको सतहबाट सधैँ पाँच सय फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा जमिनको सतहबाट कम्तीमा एक हजार फिटमाथि हुनुपर्नेछ ।

उनका अनुसार वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलट (आईपी)ले जहाज उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने, इन्स्टुमेन्टल फ्लाइट रुल्स (यान्त्रिक उपकरणको मद्दतबाट हुने नियम)अनुसार उडान हुने विमानस्थलमा भिजुअल फ्लाइट रुल्स उडान गर्न नपाउने भएका छन् । अहिले आईएफआर उडान हुने विमानस्थलमा समेत भीएफआर उडान तथा अवतरण भइरहेका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot