Logo

भलामखोरका घरघरमा खानेपानी धारा



काठमाडौँ,२० माघ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा २० भलामखोरका बासिन्दाका घरघरमा धारा जडान गरिएको छ । कूल रू एक करोड १९ लाख ३२ हजार आठ सय लागतमा इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीयको घर–घरमा मिटरसहितको खानेपानी धारा जडान गरिएको हो ।

गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत रु एक करोड आठ लाख ४८ हजार र १० लाख ८४ हजार आठ सय बराबरको स्थानीय जनश्रमदान परिचालन गरिको इक्राघारी विचारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७७÷ ७८ निर्माण कार्य सुरु गरिएको सो आयोजना सम्पन्न भएसँगै उक्त स्थानका ९१ घरका चार सय ५० परिवारलाई प्राकृतिक स्रोतको शुद्ध खानेपानी सुविधा पुगेको छ । “विश्वव्यापी पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीको अवसरमा सुरु गरिएको भए पनि निर्माण कार्यले निरन्तरता पाएको हो”, तिमिल्सिनाले भने, “प्रदेश खानेपानी कार्यालयको आर्थिक एवम् प्राविधिक सहयोग र उपभोक्ताको अथक प्रयासले योजना सम्पन्न भई खानेपानी सहज भएको हो ।”

बस्तीभन्दा एक हजार सात सय मिटर लम्बाइमा जङ्गलको पानीको स्रोतबाट दुई इन्चको पाइपमार्पmत ल्याइएको पानी ५० हजार र ३०÷ ३० हजार लिटर क्षमताका छुट्टाछुट्टै तीनवटा ट्याङ्कीमा पानी सङ्कलन गरी वितरणको व्यवस्था गरी भएको उनको भनाइ छ ।

एक गाग्री पानीका लागि जुकेपानी, भलामखोला र टारी कुवासम्म धाउनुपर्ने बाध्यता थियो । करिब २२ वर्षअघि नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लबको सहयोगमा एक इन्चको पाइपबाट पानी आएपछि केही सुविधा पुगे पनि हाल सोही योजनाको स्तरोन्नति गरेपछि हाल पानीको राम्रो सुविधा पुगेको छ । योजनाबाट एक सय १५ सम्म धारा सञ्चालन गर्ने क्षमता रहेको बताइएको छ ।

उपभोक्ता समितिका सचिव प्रजापति पौडेलका अनुसार बस्तीमा तीन हजारभन्दा बढी मिटर लम्बाइको वितरण पाइप विस्तार गरिएको छ । जङ्गलबीचको पानी घरमा आइपुगेपछि स्थानीय खुसियाली छाएको छ । खानेपानी वितरणलगायत मुहान सरसफाइ र रेखदेखका लागि स्थानीय उपभोक्ता बुद्धिबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।

योजना सम्पन्न भएसँगै खानेपानी वितरणलाई व्यवस्थित गर्नका लागि कार्यालय भवनसमेत निर्माण गरिएको छ । भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीय जसुका पौडेलले निःशुल्क प्रदान गरेको उपभोक्ता समितिका कोषाध्यक्षका माया जिसीले जानकारी दिइन् ।

भवनसँगै परम्परागत रुपमा उपयोग गरिएको तोरी पेल्ने कोल, कुटानी पिसानीका ढिकी र जाँतोसमेत स्थापना गरी प्रदर्शन गर्ने योजना रहेको बताउँदै उनले त्यसका लागि सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन् ।

प्रथम साधारणसभा सम्पन्न

पोखरा महानगरपालिका¬–२० का वडाध्यक्ष गङ्गाबहादुर केसीले करोडौँ रकम खर्च गरेर निर्माण गरिएका खानेपानी योजनाअन्तर्गत आएको पानी खानका लागि मात्र नभई उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

भलामखोरस्थित इक्राधारी विचारी खानेपानी योजना तथा सरसफाइ उपभोक्ता समितिको प्रथम साधारणसभामा बोल्दै उनले घरमा प्रयोग गरेर बचेको पानी पशुपालन एवम् तरकारी खेतीतर्पm लाग्न स्थानीयसमक्ष आग्रह गरे ।

खानेपानीको सुविधा पुगेको योजनाको मर्मत गर्नु अपरिहार्य भएको उल्लेख गर्दै उनले भने, “टोलवासीको एकता र सामूहिक भावनाबाट मात्र दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुग्दछ ।”

उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको साधारणसभामा समाजसेवी, बुद्धिजीवी तोरण गुरुङ, सूर्यबहादुर थापा, विश्वबहादुर जिसी, लोकबहादुर जिसी, टेकबहादुर जिसी, रुद्रबहादुर राना, माया तिमिल्सिना, रनबहादुर भुजेल लगायतले सम्पन्न योजना र खानेपानीको महत्वमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा कोषाध्यक्ष माया जिसीले आर्थिक तथा सचिव प्रजापति पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । रासस

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot