काठमाडौं, माघ २१ । वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको दाबी गरेको छ । शुक्रबार वायुसेवा सञ्चालक संघले राजधानीमा आयोजना गरेको ‘हवाई सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी वायुसेवा सञ्चालकले यस्तो दाबी गरेका हुन् । उनीहरूले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताए ।
संघले हवाई दुर्घटना एउटा मात्रै कारण नभएर धेरै कारणले हुने बताएको छ । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको बताए । उनले धेरै राम्रो हवाई सुरक्षा भएको देशहरूमा पनि विभिन्न कारण हवाई दुर्घटना हुने गरेको बताए ।
हवाई दुर्घटनालाई सामान्य लिन नहुने भन्दै उनले दुर्घटनाबाट पाठ सिकेर थप हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक रहेको धारणा राखे । यसैगरी, संघका अध्यक्ष थापाले हवाई दुर्घटना जहाज मेसिन, मौसम, प्राविधिक पक्ष, व्यवस्थापन, नियमन र मानवीय गल्तीलगायतको कुनै पनि कारण हुन सक्ने बताए ।
हाल नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको जिकिर गर्दै उनले हवाई उडान सुरक्षित रहेको सन्देश सञ्चारमाध्यमले पु¥याउन आवश्यक रहेको बताए । अध्यक्ष थापाले नेपालमा हवाई दुर्घटना हुन नदिनका लागि नियमन निकायले थप सुरक्षित अवधारणा ल्याउन जरुरी रहेको बताए । उनले नेपालको हवाई उद्योग मुलुकको अर्थतन्त्रको धरोहर भएको भन्दै हवाई उद्योगले पर्यटन उद्योगलाई ठूलो टेवा पु¥याएको दाबी गरे ।
यसैगरी, उनले विमान काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि लैजानुपर्ने विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरणले बाहिरका विमानस्थलमा प्राप्त हवाई पूर्वाधार उपलब्ध गराउनुपर्ने बताए ।
वायु सेवा कम्पनी नेपालका सबै क्षेत्रमा हवाई सेवा पु¥याउन तयार रहेको भन्दै उनले सरकारले त्यहीअनुसार हवाई पूर्वाधार बनाउन आवश्यक रहेको दाबी गरे । उनले हरेक विमानस्थलमा प्राधिकरणले प्राप्त हवाई पूर्वाधारहरू उपलब्ध गराएमा काठमाडौंभन्दा बाहिरका विमानस्थलमा हवाई कम्पनीका जहाज जान तयार रहेको बताए । उनले थापाले काठमाडौं विमानस्थलमा विमान पार्किङको लागि सानो ठाउँ रहेको तर काठमाडौं बाहिरका विमानस्थलमा पार्किङकका लागि प्राप्त पूर्वाधार नभएकोमा चिन्ता व्यक्त गरे ।
संघका महासचिव मनोज कार्कीले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका लागि ल्याएका नयाँ व्यवस्था वायुसेवा सञ्चालकसमेतको सहकार्यमा ल्याएको बताए । उनले प्राधिकरणले ल्याएको नयाँ नियमले हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउन मद्दत पुग्ने बताए । उनले प्राधिकरणले विगतमा भएको हवाई उडान मापदण्ड असुरक्षित भएर नयाँ नियम ल्याएको भने नभएको स्पष्ट पारे । उनले प्राधिकरणको नयाँ नियम सञ्चालक संघले तत्काल पालना गर्न तयार रहेको बताए ।
यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्यामकिशोर साहले नेपालको हवाई उडान सुरक्षित बनाउन हवाई ट्राफिक कन्टोलरलाई थप तालिमको आवश्यकता रहेको बताए । उनले प्राधिकरणले ट्राफिक कन्ट्रोलरलाई दिने तालिम कमी भएको भन्दै तालिम बढाउन आवश्यक रहेको बताए । उनले हवाई उडानको सुरक्षित बनाउनका लागि नियमन, तालिम र टेक्नोलोजी राम्रो आवश्यक रहेको बताए । उनले नेपालको हवाई उडानमा राम्रो टेक्नोलोजी प्रयोग नियमन राम्रो रहेको बताए । राजधानी दैनिकबाट