जनकपुरधाम, माघ २१ । आफूलाई ‘कुमारी आमा’का रूपमा चिनाउँदै आएकी निहारिका राजपुत र आरोपित शिवराज श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।
धनुषाका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहवरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम निहारिकाले शिवराजसँग दाम्पत्य जीवन प्रारम्भ गर्ने गरी मुद्दा मिलापत्र गरेपछि दुवैजना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् ।
आइतबार मात्रै निहारिकाले धनुषा जिल्ला अदालतमा अंश मुद्दा दिएकी थिइन् । सोमबार दुवै जनाबीच मिलापत्र भएपछि विगतका झगडा बिर्सेर एक–अर्कालाई पति–पत्नीका रूपमा स्वीकार गरी बस्ने निर्णय भएको हो । “म र नाबालक छोरासमेतलाई इज्जतअनुसार खान, लाउन, औषधोपचार खर्च, छोराको पढाइलेखाइ खर्च तथा पिता–पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर शिवराजले स्वीकार गरेपछि म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेर मिलापत्र गरेकी हुँ,” निहारिकाले मिलापत्रमा भनेकी छन् ।
शिवराजको घरपरिवारले आफू र आफ्नो बच्चालाई ससम्मान स्वीकारेका छन्, छोराले घर, बुवा र परिवार पाएको छ, त्यसैमा सबैको भलो भएको छ, त्यसैले आफू र शिवराजले पनि विगतका सबै कुरा बिर्सेर नयाँ सुरुवातका साथ जिवन अगाडि बढ्ने निर्णय गरेकोमा निहारिकाले खुसी व्यक्त गरिन । यही माघ २७ गते आफू र शिवराजले सामाजिक परम्पराअनुसार जानकी मन्दिरमा विवाह गर्ने जानकारीसमेत उनले जानकारी दिइन् ।
“छोराका लागि नै यति सङ्घर्ष गरिरहेकी थिएँ, छोराले नै हामीलाई मिलायो, मैले र शिवराजले पनि पुराना कुरा सबै बिर्सेर सन्तानका लागि अगाडि बढ्ने निर्णय गरेका हौँ,” निहारिकाले भनिन् । छोराले मोबाइल खेलाउँदै गरेको भिडियोकलले शिवराजको मन पग्लेको र त्यसपछि शिवराजले नै सबैथोक बिर्सेर छोराका लागि एक भएर बसौँ भन्ने प्रस्ताव गरेपछि मिल्ने निधो गरेको उनको भनाई छ।
निहारिका र शिवराजबीच मिलापत्र हुनुअघि एक–अर्कालाई आरोप–प्रत्यारोप लगाइरहेका थिए । छोराको डीएनए जाँचपछि शिवराजलाई सजायँ दिलाउने अवस्थामा निहारिका पुगेकी थिइन् तर दुईबीचको आपसी समझदारीले सम्बन्ध विवाहसम्म पुगेको छ । गोरखापत्र दैनिकबाट