Logo

सेनाले आफ्नो लागि बुट जुत्ता आफैं उत्पादन गर्ने



काठमाडौं, माघ २२ । नेपाली सेनाले आफ्ना सैन्यदेखि अधिकृतसम्मले प्रयोग गर्ने बुट जुत्ता आफै उत्पादन गर्ने भएको छ । यसअघि टेन्डर प्रक्रियामार्फत बुट किन्दै आएको सेनाले अव आफैंले उत्पादन गरी आफ्ना कर्मचारीलाई वितरण गर्ने भएको हो ।

वार्षिक करोडौं रुपियाँ खर्च गरेर कालो रंगको बुट खरिद गर्दै आएको सेनाले सुन्दरीजलस्थित आफ्नै जग्गामा बुट उत्पादन गर्ने कारखाना स्थापना गरेको छ ।

सैनिक कल्याणकारी बोर्डबाट ऋण लिएर नेपाली सेनाले उक्त उद्योग स्थापना गरेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए। बोर्डबाट १४ करोड रुपैयाँ ऋण लिएर स्थापना भएको सो उद्योगले बुट उत्पादनका लागि चाहिने कच्चा पदार्थ विभिन्न मुलुकबाट झिकाउने प्रक्रिया अगाडि बढाएको पनि प्रवक्ता भण्डारीले बताए ।

उद्योगले वार्षिक ८७ हजार ५ सय जोर जुत्ता उत्पादन गर्ने बताइएको छ । नाफा वितरण नगर्ने कम्पनीको रूपमा स्थापना भएकोे उक्त उद्योगले नेपाली सेनाले प्रयोग गर्ने अन्य वस्तुको समेत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

नेपाली सेनाले प्रयोग गर्ने बुट उत्पादनबाट शुरू हुने जुत्ता कारखानाबाट नेपाली सेनाले प्रयोग गर्ने अन्य प्रकारका जुत्ता पनि उत्पादन हुने सेनाले जनाएको छ । उक्त उद्योगबाट उत्पादन भएका जुत्ता गैरसैनिक नागरिकको प्रयोगका लागि भने बिक्री नगरिने पनि नेपाली सेनाले जनाएको छ । यसरी उत्पादन गरिएका बुट लागत मूल्यमा केही रकम जोडेर सैनिक जवानदेखि प्रधानसेनापतिसम्मलाई बिक्री गर्ने भएको छ ।

सेनाको जुत्ता कारखाना स्वाट कम्पनीको ट्रेडमार्क रहेको ‘ओरिजिनल फुटवेयर कम्पनी’सँगको प्राविधिक सहकार्यमा स्थापना गरेको हो । उक्त कम्पनीसँग प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेर सेनाले कारखाना स्थापना गरेको बताएको छ ।

सेनाले यसअघि विदेशी कम्पनीले उत्पादन गरेका सैनिक बुट टेन्डरमार्फत खरिद गर्दै आएको थियो । यसरी हुने खरिद प्रक्रिया एकातर्फ विवादमा पर्दै आएको थियो भने अर्कोतर्फ खरिद गरिएका जुत्ताको गुणस्तरमा समेत समस्या देखिँदै आएको थियो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्