Logo

राष्ट्रपति पद पाउने आश्वासनमा नै कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको होः पोखरेल



काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले आफ्नो पार्टी राष्ट्रपति पद प्राप्त हुनेमा ढुक्क रहेको बताएका छन् ।
‘मुलुकमा सहमतिको वातावरण बनाउने क्रममा माओवादीले प्रधानमन्त्री र एमालेले सभामुख पाइसकेका छन् । अब संसदमा सबभन्दा ठूलो लोकतान्त्रिक दल कांग्रेसको राष्ट्रपति हुँदा संविधान लिकमा राख्न सजिलो हुन्छ । कांग्रेसले राष्ट्रपति पद पाउने आश्वासनमा नै प्रचण्डलाई विश्वासको मत दिएको हो । अब प्रधानमन्त्रीले आफ्नो वाचा पूरा गर्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भने ।
राष्ट्रपतिमा कांग्रेसले प्रस्ताव गरेको र लोकतान्त्रिक विचार बोकेको व्यक्ति चयन हुने उनले ठोकुवा गरे । पोखरेलले भने, ‘कांग्रेसको राष्ट्रपति बनाउनैहुन्न भनेर एमालेले पनि ढिपी कस्दैन होला । किनभने राष्ट्रपति कांग्रेसलाई दिँदैमा गठबन्धन पनि भत्कँदैन । गठबन्धनका दलहरुले सरकारमा बस्दैनौं भने मात्र अलग कुरा हो । हामी राष्ट्रपति लिएर प्रमुख प्रतिपक्षको भूमिकामा बस्छौं ।’ व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशलाई सर्वोपरि राख्न सक्ने कांग्रेसमा त्यस्ता थुप्रै नेता रहेको पनि उनले औंल्याए ।
नेकपा (माओवादी केन्द्र) ले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग नगरे विश्वासको मत फिर्ता लिनुपर्ने बाध्यता हुने पनि पोखरेलको कथन छ । उनले भने, हामीले गत निर्वाचनमा राजनीतिक इमानदारिता देखाएर हँसिया हथौडा र कलम चिह्नमा भोट हाल्यौं, आफूले जित्ने ठाउँमा साथीहरुलाई उम्मेदवारी दिन नलगाई सिट छाड्यौं । अहिले राष्ट्रपति नदिने भन्ने हुँदैन । यसमा प्रधानमन्त्री मात्र नभएर विपक्षी दलहरु पनि सकारात्मक हुनुहुन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नै चाहिन्छ भनेर अड्डी लिनु उचित नभएको पनि पोखरेलले टिप्पणी गरे । उनले भने, ‘रास्वपा ६ महिनाअगाडि खुलेको पार्टी हो । जनताले भावनामा बगेर उनीहरुलाई अनुमोदन गरे । उसले गृहको साटो अर्को मन्त्रालय देऊ भन्न सक्नुपथ्र्यो । जताततै सडक बिग्रेका छन्, जनताले कृषि उपज सडकमा ल्याएर घोप्ट्याएका छन् । जनताको सेवा गर्न जुनसुकै मन्त्रालय लिए पनि हुन्छ । उसले गृह नै चाहिन्छ भनेर अड्डी लिनु उचित होइन ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot