काठमाडौं, २२ माघ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) लाई समर्थन गर्ने भएको छ । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बराहीमा आज (आइतबार) बसेको संसदीय समितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्याललाई सघाउने निर्णय गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी नदिने र माओवादीकी उम्मेदवार अर्याललाई सघाउने निर्णय भएको बताए ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म समय निर्धारण गरिएको छ । उपाध्यक्ष चयनका लागि भोलि (सोमबार) निर्वाचन हुने कार्यतालिका रहेको छ ।