Logo

संसद्मा ओलीको टिप्पणी : कांग्रेस अहिले पानी बाहिरको माछाजस्तै छट्पटाएको छ (भिडिओसहित)



काठमाडौं, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारमा जाने र सत्ताको लिप्सामा नभएको स्पष्ट पारे । तर, देशमा राजनीतिक अनिश्चय बढ्दै जाने देखेर आफूहरु सरकार निर्माणको पहल गरेको उनको स्पष्टोक्ति थियो ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी जसरीपनि सरकार बनाउने सत्ता लिप्सामा थिएनौं । अनिश्चय बढ्दै गएको अवस्थामा एमालेले सरकार निर्माणको पहल गरेको हो । हामीले सत्ता दलले साझा न्यूनतम कार्यक्रम ल्याएका छौं । नयाँ सरकार गठन भएपछि जनतामा उत्साह प्रवाह भएको छ।’

उनले यतिवेला नेपाली कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाएको पनि टिप्पणी गरे । उनले भने,‘कांग्रेसका मित्रहरुसँग सत्तामा विग्रह ल्याउने र अल्पकालिन लाभ लिने अनुभव राम्रो छ । मेरा मित्र देउवालाई आग्रह गर्न चाहनछु–बृहत्तर राष्टिय हितमा काम गरौं । स्थायित्वको लागि योगदान गरौं । कोही पनि जालान्धर नबनौं । राष्ट्रलाई अस्थिरतातर्फ धकेल्दा कसैको पनि हित हुँदैन् । धमिलो पानीमा माछा मार्नेको मात्रै हित हुन्छ । आम नागरिक धेरै सचेत भएका छन् ।’



प्रतिक्रिया दिनुहोस्