Logo

कांग्रेस फेरि पनि सरकारमा आउन बल गरिरहेको छ, अलिकति सिक्नु नी : ओली



काठमाडौं, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सरकारमा आउन बल गरिरहेको भन्दै आपत्ति जनाएका छन् । उनले यसअघि सरकारको नेतृत्व गरेको कांग्रेसले देशलाई अद्योगतिमा लगेको आरोप लगाएका छन् । उनले आफूहरु सरकारमा जाने र सत्ताको लिप्सामा नभएको स्पष्ट पारे ।

तर, देशमा राजनीतिक अनिश्चय बढ्दै जाने देखेर आफूहरु सरकार निर्माणको पहल गरेको उनको स्पष्टोक्ति थियो । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी जसरीपनि सरकार बनाउने सत्ता लिप्सामा थिएनौं । अनिश्चय बढ्दै गएको अवस्थामा एमालेले सरकार निर्माणको पहल गरेको हो । हामीले सत्ता दलले साझा न्यूनतम कार्यक्रम ल्याएका छौं । नयाँ सरकार गठन भएपछि जनतामा उत्साह प्रवाह भएको छ।’

उनले यतिवेला नेपाली कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाएको पनि टिप्पणी गरे । उनले भने,‘कांग्रेसका मित्रहरुसँग सत्तामा विग्रह ल्याउने र अल्पकालिन लाभ लिने अनुभव राम्रो छ । मेरा मित्र देउवालाई आग्रह गर्न चाहनछु–बृहत्तर राष्टिय हितमा काम गरौं । स्थायित्वको लागि योगदान गरौं । कोही पनि जालान्धर नबनौं । राष्ट्रलाई अस्थिरतातर्फ धकेल्दा कसैको पनि हित हुँदैन् । धमिलो पानीमा माछा मार्नेको मात्रै हित हुन्छ । आम नागरिक धेरै सचेत भएका छन् ।’

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मतलाई राम्रो मान्न नसकिने उनको भनाई छ । कांग्रेसले विश्वासको मत दिएर सभामुख र राष्ट्रपतिको निर्वाचनमा खिचोला थापेको आरोप लगाए । उनले प्रधानमन्त्री प्रचण्डलाई जिम्मेवारी, उत्तरदायी र अभिभाराको भारी बोकाएको सुनाए ।

उनले कांग्रेसको निषेधको राजनीति अहिले उत्तानो परेको र सहमतिको राजनीति सुरु भएको भन्दै व्यंग्य गरे । उनले शान्ति प्रक्रिया टुँग्याउनुपर्नेमा जोड दिए । उनले भने,‘सधैं सत्तामा रहने र जस्तोसुकै विधि अपनाएर सत्तामा रहनेलाई लोकतनत्र भनिँदैन् । लोकतन्त्र शाब्दिक परिभाषा मात्रै होईन । जीवनपद्धती हो ।’

उनले देउवा सरकारले राष्ट्रिय सम्पत्ति दुरुपयोग गरेको पनि आरोप लगाए । उनले भने,‘मान्छेको गरिबी बढ्दो छ । बहसले हुन्छ ? तर्कले पेट भर्छ ? तर्कले उद्योग खुल्छ ? सञ्चालित हुन्छ ? उद्योगहरु बन्द भएका छन् । औद्योगिक क्षेत्र समस्यामा छन् । अहिले नवनिर्मित सरकारले अर्थतन्त्रलाई सही तवरले अघि बढाउँछ । वित्तिय उत्तरदायी वहन गर्नुपर्छ कि पर्दैन् ?’

ओलीले अहिलेको सरकारलाई तलमाथि कोशिस गर्नु लोकतन्त्रको पक्षमा नभएको भन्दै त्यस्तो कदम नचाल्नपनि कांग्रेसलाई आग्रह गरे । उनले भने,‘यो जनताको हितमा पनि छैन् । सरकारको नेतृत्व गर्ने वैकल्पिक शक्तिपनि छैन् । नीति र व्यवहारको श्रेष्ठता भएको अर्को कुनै दल छैन् ।’



प्रतिक्रिया दिनुहोस्