Logo

मनीष सुमनलाई धमलाको प्रश्न– एकीकृत समाजवादी र जसपा सँगसँगै सरकारमा जान लागेका हुन् ?



काठमाडौं, २३ माघ । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीषकुमार सुमनले आफ्नो पार्टीलाई सरकारमा जाने कुनै हतारो नभएको दाबी गरेका छन् ।
‘हामीले सरकारलाई समर्थन दिएकै छौं । मन्त्रीमा पदमा मात्र नगएको हो । कोही बारिहिँदैमा सरकारमा जाने पालो आयो भन्ने पनि होइन । प्रधानमन्त्रीजी र केपी ओलीजीसँग थप छलफल गर्न बाँकी छ । एक थान मन्त्रीका लागि हिजो पनि सरकारमा जान आतुर थिएन । अब पनि छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुमनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिँदैमा सरकार अल्पमतमा नपरेको पनि उनले बताए । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको मात्र हो । सरकारलाई उसको समर्थन त जारी छ । सरकार अल्पमत परेको छैन, परेको बखत सोच्ने कुरा हुन्छ ।’
माधवकुमार नेपालको पार्टी र जसपा सँगसँगै सरकारमा जान लागेका हुन् भनी सोधिएको प्रश्नमा सुमनले भने, ‘एकीकृत समाजवादीसँग एकताका लागि जसपाको छलफल भएको हो । तर अहिले हामी पृथक पृथक दल हौ । सरकारमा जाने वा नजाने उसको कुरा हो । तर हामी ढोक्सा थापेर बसेका छैनौं । हामी सरकारमा जान आतुर पनि छैनौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot