Logo

रवि लामिछानेलाई रामहरि खतिवडाको कटाक्ष– परालको आगो जति छिटो बल्छ, त्यति नै छिटो निभ्छ



काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद्को रोस्ट्रममा प्रधानमन्त्रीजस्तो भएर प्रस्तुत भएको आरोप लगाएका छन् ।
‘सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सदनमा प्रस्तुत गरिसकेको छैन । तर हिजो संसद्मा पूर्वप्रधानमन्त्री केपी ओलीजी रोस्ट्रममा प्रधानमन्त्रीजस्तो भएर प्रस्तुत हुनुभयो । त्यसका कारण मैले नियमापत्ति गर्नुपर्ने अवस्था आयो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने ।
ओलीले भनेजस्तै कांग्रेस सरकार ढाल्न लागेको हो भन्ने धमलाको प्रश्नमा उनले भने, ‘ओलीजी अलिकति हतारिनुहुन्छ । अलिकति बहकिनुहुन्छ । हिजो दुई तिहाइ नजिकको सरकार ढाल्ने उहाँ नै होइन ? साढे तीन वर्षसम्म कांग्रेसले कहिल्यै रुवाबासी गर्यो ? प्रधानमन्त्रीले राष्ट्रिय सहमतिमा जान्छु भन्ने अभिव्यक्ति दिँदैमा हतपताएर कन्पारो तताएर बस्नु जरुरी छैन । जनतालाई भ्रम पारेर मुलुक चल्छ ?’
कांग्रेसको कारण भन्दा पनि केपी ओली र रवि लामिछानेका कारण सरकार ढल्ने खतिवडाले औंल्याए । उनले थपे, ‘यो सरकार हाम्रा कारणले ढल्दैन । ढल्छ भने ओली र रविको अहंका कारण ढल्छ । उहाँहरु आफू नभए मुलुक ध्वस्त भए पनि होस् भन्ने ढंगले प्रस्तुत हुनुभएको छ । तर कांग्रेस सरकार ढाल्ने पक्षमा छैन ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सिलबरे कराईको संज्ञा दिए । खतिवडाले भने, ‘गृहमन्त्री गुम्दा रविजी विचलित मनस्थितिमा आउनुभएको छ । हामी उहाँले जस्तो नेता र पत्रकारलाई गाली गर्न चाहँदैनौं । एकचोटि चुनाव जित्दैमा मुलुक नै जितें भनेर प्रस्तुत हुन मिल्छ ? भोलि फेरि ठाउँ पाइहालिन्छ कि भनेर सरकारलाई समर्थन कायमै राखेर बार्गेनिङको बाटोमा लाग्नुभएको छ । अहिले रविजीलाई पीडा छ । को बोलें भन्ने हेक्का पनि छैन । सिलबरे कराई जति छिटो तात्छ, त्यति छिटो सेलाउँछ । परालको आगो जति छिटो बल्छ, त्यति छिटो निभ्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सबैलाई मिलाएर जाने अभिव्यक्ति स्वागतयोग्य भएको पनि खतिवडाले सुनाए । उनले भने, ‘एमाले मुलुकका सबै संवैधानिक पद कब्जा गर्ने रणनीतिमा छ । सम्माननीय प्रधानमन्त्रीले यो कुरा बुझ्नुभएको जस्तो लाग्छ । राम्रो काम गरुन्जेल हामी सरकारलाई समर्थन गर्छौं, तरसरकारमा जाँदैनौं । हामी चटके राजनीतिको पक्षमा छैनौं ।’
राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेलको सम्भावना रहेको पनि खतिवडाले बताए । उनले भने, ‘अहिलेसम्म रामचन्द्र पौडेलकै सम्भावना छ । समकालीन राजनीतिमा दुःख पाएको र योग्यता, क्षमता भएको उहाँ नै हो । सबै दलले समर्थन गर्न सक्ने उम्मेदवार उहाँ नै हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot