Logo

माओवादी नेता भन्छन्– प्रधानमन्त्रीले राष्ट्रिय सहमति गरौं, देशका मुद्दामा सबै पार्टी मिलेर जाऊँ भन्नु नराम्रो हो र ?



काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री फिर्ता गरे पनि समर्थन कायमै राखेकाले सरकार अल्पमतमा नपरेको दाबी गरेका छन् ।
‘सरकार अल्पमतमा परेको छैन । अझै पनि अत्यधिक बहुमत छ । रास्वपाले मन्त्रीमात्र फिर्ता गरेको हो, विश्वासको मत फिर्ता गरेको छैन । रास्वपा प्रधानमन्त्रीका कारण नभई आफ्नै निर्णयले सरकारबाट हटेको हो । रविजीले उपप्रधान र गृहमन्त्री चाहियो भन्नुभयो, प्रचण्डले दिनुभयो । अदालतबाट एकखाले फैसला आएपछि प्रधानमन्त्रीले अदालतको सम्मान गर्नुपर्‍यो नि । अदालतभन्दा माथि त कोही पनि छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
माओवादी नेता पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको कुरा गर्नु जायज भएको पनि बताए । उनले थपे, ‘राष्ट्रिय सहमति नराम्रो कुरा हो र ? देशको मुद्दामा सबै पार्टी मिलेर जाऊँ पो भनेका हौं त । सधैं लडाइँ, झगडा, मारमुंग्री नै राजनीति त होइन नि । यो कुरा हामीले भन्दा पनि केपीजीले भन्दा राम्रो हुन्छ । उहाँले अघि सार्नुभएको सुखी नेपाली समृद्ध नेपालको नारा सहमति नभई कसरी पूरा हुन्छ ? सिनियर नेताहरुले सहमतिको कुरा पो भन्नुपर्छ त । अप्ठ्यारो र महत्त्वपूर्ण मुद्दामा नेपाली कांग्रेसजस्तो संसदको ठूलो पार्टीको भूमिका हुँदैन र ?’
एमालेसँग भएका सहमति बमोजिम प्रधानमन्त्री, सभामुख, उपसभामुख, सातै प्रदेशका सरकार बनेको औंल्याउँदै पौडेलले बाँकी विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको पनि बताए । उनले भने, ‘हामीले साझा सहमति उल्लंघन गरेका छैनौं । हामी केपीजीको तर्कलाई सम्मान गर्छौं । सहमति अनुसार नै सातै प्रदेश सरकार बने । सभामुख, उपसभामुखको निर्वाचन भए । अब बाँकी रहेका विषयमा सहमति गरौं भनेका हौं । राष्ट्रपति संविधानको संरक्षण गर्ने, राष्ट्रको अभिभावकत्व ग्रहण गर्ने पद हो । खसी काटेर बिलो बाँड्ने पद होइन नि ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot