काठमाडौं, २३ माघ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको बताएका छन्। आज (सोमबार) बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उपप्रधान एवम भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका श्रेष्ठले प्रतिनिधि सभापति प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा पनि राष्ट्रिय सहमतिको सन्देश गएको विश्वास दिलाए । अहिले राष्ट्रियसभाको उपाध्यक्षमा पनि एक जनाको मात्रै उम्मेदवार बनेपछि सहमतिको सन्देश सकारात्मक रुपमा गएको उनको दाबी छ ।
उनले सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुपर्ने बताए। उनले भने,‘राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सामाजिक न्यायसहितको समृद्धिको अभियानलाई त्यसलाई गुणात्मक फड्को दिशामा पुर्याउन सबै राजनीतिक पार्टीहरू मिलेर राष्ट्रिय सहमतिको वातावरण सिर्जना गर्दै जानुपर्ने भएकोमा त्यसको बोध सबैबाट हुँदै गएको अनुभूति गराएको छ।’