Logo

काभ्रेमा ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन



काठमाडौँ,२३ माघ । यहाँको नापी कार्यालयमा सञ्चालन गरिएको ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन बनेको छ ।

नागरिकलाई सहज तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यले धुलिखेलस्थित नापी कार्यालयले गत चैत २२ देखि डिजिटल प्रविधिको प्रयोग गर्दै ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको थियो ।

उक्त कार्यक्रमअन्तर्गत डिजिटल नक्सा घरमै बसेर प्राप्त गर्न सकिने छ । तर दश महिनाको अवधिमा २८ जनाले मात्रै उक्त सेवा लिएको कार्यायले जनाएको छ ।

कार्यालय प्रमुख रामविनय कुमार सिंहले मेरो कित्ता कार्यक्रमबारे नागरिकलाई जानकारी नहुँदा र उनीहरुमा पनि चासो नहुँदा प्रभावहीन देखिएको बताए। “कार्यक्रमबारे जिल्लाका नागरिकलाई बुझाउन जरुरी देखियो, यसका लागि कार्यालयले सचेतनामूलक कार्यक्रम गर्नुपर्ने छ”, उनले भने । उनका अनुसार केही सेवाग्राहीले टेलिफोनमार्फत जानकारी लिने गरेका छन् ।

“घरबाटै इन्टरनेटको प्रयोग गरेर आफ्नो जग्गाको कित्ताको नक्सा लिन सकिन्छ, यसले खर्च र समयको बचत पनि हुन्छ”, उनले भने ।

पाँचखाल नगरपालिका–३ का रामकृष्ण तिमल्सिनाले इन्टरनेटमार्फत आफ्नो जग्गाको नक्सा पाइनेबारे जानकारी नभएको बताए । “कार्यक्रम लागू भएपछि सम्बन्धित निकायले जानकारी दिनुपर्ने, सेवाग्राहीले पनि कार्यालयबाट पाउने सुविधाबारे चासो दिनुपर्छ”, उनले भने । उनले खर्च र समयको बचत हुनुका साथै लाइन बस्नुपर्ने झन्झट नहुने भन्दै सेवाग्राहीलाई सेवा लिन आग्रह गरे ।

उक्त कार्यक्रमबाट सेवा लिन चाहने सेवाग्राहीले एक ‘एमबी’ बराबरको जग्गाधनी पुर्जा र नागरिकताको फोटो सहित फारम भरी आईपिएस्मार्फत रू एक सय राजश्व र रू दशको टिकट बापतको रकम तिर्नुपर्छ । प्रक्रिया पूरा भइ आएका निवेदनलाई नापी कार्यालयले दुई दिनभित्र सम्बन्धित व्यक्तिलाई नक्सा उपलब्ध गराउने छ ।

सूचना टाँस गरेर सेवाबारे जानकारी दिएको नापी अधिकृत सुरेश मानन्धर बताउछन् । “सहज सेवा हुँदाहुँदै नागरिक लाइन बसिरहेका छन्, अब यसबारे प्रभावकारी योजना बनाएर नागरिकलाई बुझाउन जरुरी देखिन्छ”, उनले भने ।

पछिल्ला दिन जग्गाको नक्सा प्राप्त गर्न कार्यालयमा दैनिक एक सयको हाराहारीमा सेवाग्राही लाइन बस्ने गरेका छन् । यही माघ २ देखि काभ्रेपलाञ्चोकमा जग्गाको कित्ताकाट खुलेपछि नक्सा लिनेको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।

मातपोत कार्यालयले धुलिखेल र बनेपा नगरमा मात्रै जग्गाको वर्गीकरण गरेकाले कित्ताकाट खुला गरेको हो । अन्य स्थानीय तहले जग्गाको वर्गीकरण गरी मालपोत कार्यालयमा निवेदन गरेकाले क्रमशः कित्ताकाट खुलाईंदै जाने जनाइएको छ । रासस

 



प्रतिक्रिया दिनुहोस्