Logo

बर्सेनि साढे सत्ताइस अर्बको मोबाइल आयात



काठमाडौं, माघ २४। विगत पाँच वर्षमा नेपालीले मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपैयाँ खर्चिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आव २०७४/७५ देखि २०७८/७९ सम्मको पाँच वर्षको अवधिमा मोबाइल आयातका लागि सो खर्च भएको हो । उक्त रकम खर्च गरेर दुई करोड ७५ लाख थान मोबाइल आयात गरिएको तथ्याङ्क छ ।

विगत पाँच वर्षमा मोबाइल आयातमा भएको खर्चका आधारमा प्रत्येक वर्ष २७ अर्ब ४६ करोड रुर्पैयाँ मोबाइल आयातमा बाहिरिएको देखिन्छ ।

मोबाइल आयातबापत सरकारले वार्षिक औसत चार अर्ब ३३ करोड रुपैयाँ बराबर राजस्व पनि सङ्कलन गरेको छ । यस हिसाबले विगत पाँच वर्षमा सरकारले मोबाइल आयातबापत २१ अर्ब ६४ करोड रुपैयाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।

यो पाँच वर्षको अवधिमा आव २०७७र७८ मा सबैभन्दा धेरै मोबाइल आयात भएको छ । तथ्याङ्कअनुसार उक्त आर्थिक वर्ष करिब ३७ अर्ब रुपैयाँ बराबरको ७० लाख थान मोबाइल आयात भएको थियो ।

विश्वव्यापी प्रवृत्तिजस्तै नेपालमा पनि अधिकांशले स्मार्ट फोन नै प्रयोग गर्ने गरेका छन् । दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कुनै एक पटक सक्रिय भएका मोबाइल फोनको तथ्याङ्कका आधारमा हेर्दा कुल मोबाइल सेट प्रयोगकर्तामध्ये करिब ६८ प्रतिशतले स्मार्ट फोन प्रयोग गर्ने देखिएको हो । बाँकीले भने बार फोन प्रयोग गर्ने प्राधिकरणको तथ्याङ्क छ ।

सेवा प्रदायकअनुसार हेर्दा नेपाल टेलिकम र एनसेल दुवैका प्रयोगकर्ताले सबैभन्दा धेरै सामसुङ ब्रान्डका मोबाइल प्रयोग गर्ने पाइएको छ ।

प्राधिकरणका अनुसार नेपाल टेलिकमको नेटवर्कमा समीक्षा अवधिमा करिब एक करोड ५८ लाख मोबाइल सेट सक्रिय भएको देखिएको छ । त्यस्तै एनसेलको नेटवर्कमा एक करोड ७० लाख मोबाइल सेट सक्रिय देखिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot