Logo

एकीकृत समाजवादीका नेतालाई प्रश्न– माधव नेपाललाई राष्ट्रपति बनाउन लाग्नुभएको हो ?



काठमाडौं, २४ माघ । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले राष्ट्रपतिमा नेपाली कांग्रेसको भन्दा पनि हिजोको गठबन्धनका रहेका पाँच दलभित्रबाट ल्याउनु उपयुक्त हुने बताएका छन् ।
‘आम निर्वाचनपछि पनि मुलुकमा अस्थिरता र अन्योल कायमै रहेको स्थिति छ । सहमतिमै जाने चाहनामा हामीले सरकारलाई विश्वासको मत दियौं । अब राष्ट्रपतिमा नेपाली कांग्रेसकै भन्दा पनि हिजोको गठबन्धनमा रहेका पाँच दलभित्रबाट ल्याउनु सबभन्दा उपयुक्त हुन्छ । राष्ट्रपतिमा नेकपा एमालेले पनि स्वीकार्न सक्ने पात्र भए अझ राम्रो हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने ।
तपाईंहरु माधव नेपाललाई राष्ट्रपति बनाउन लाग्नुभएको हो भन्ने धमलाको प्रश्नमा उनले भने, ‘हाम्रो पार्टीमा राष्ट्रपतिका लागि उपयुक्त पात्रहरु प्रशस्त हुनुहुन्छ । सहमतिको बाटो खोज्ने हो भने हामी त्यस्तो पात्र दिन सक्छौं । राजनीतिलाई पनि ठीक ठाउँमा ल्याउन सक्छौं ।’ तर राष्ट्रपतिमा नयाँ वा बीचको व्यक्ति ल्याउन नहुने औंल्याए ।
तत्काल आफ्नो पार्टी सरकारमा नजाने पनि उनले बताए । पाण्डेले भने, ‘सरकारमा जाने सम्बन्धमा हामीले कुनै निर्णय गरेका छैनौं । यहाँ त मन्त्रीमण्डल नै खेलौनाजस्तो बन्यो । वेस्ट मिनिस्टर सिस्टममा मन्त्रीले नै प्रतिपक्ष बस्छु भन्न त के, मनमा पनि राख्न पाइँदैन । हामी नगए पनि सरकारलाई सहयोग गरेकै छौं ।’

 



प्रतिक्रिया दिनुहोस्