Logo

‘माघ महिनामा रेशम चौधरीलाई उपहार दिन्छु भनेकै हो केपी कमरेडले’



काठमाडौं, २६ माघ । नागरिक उन्मुक्ति पार्टीका नेता हिमाञ्चलराज भट्टराईले रेशम चौधरीको रिहाइको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम सरकारलाई समर्थन दिन नसक्ने स्पष्ट पारेका छन् ।
‘अहिले हाम्रो पार्टीको एक मात्र माग र मुद्दा राजबन्दी रिहाइ हो । कि रेशम चौधरी छुट्नुपर्‍यो कि छुट्नुहुन्छ भन्नेमा विश्वस्त बनाउनुपर्‍यो । प्रक्रियामा गएको भए त्यो पनि क्रंकिटमा आउनुपर्‍यो । फोनमात्र गरेर भएन । माघ महिनामा रेशमलाई उपहार दिन्छु भनेकै हो केपी कमरेडले । रिहाइको रटानले अब मूर्त रुप लिनुपर्‍यो । अब हामी मौखिक कुरा मान्दैनौं, लिखित कागज केन्द्रीय सरकारले नदिईकन सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन सक्दैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने ।
अहिलेको सरकार ढले अर्को सरकार बन्ने विकल्प रहेको पनि उनले बताए । भट्टराईले भने, ‘हामीले विश्वासको मत नदिँदा यो सरकार ढले पनि अर्को सरकार बन्ने सम्भावना छँदै छ । संविधान अनुसार अर्को सरकार गठन प्रक्रिया अघि बढ्ला ।’
आफ्नो पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना पनि रहेको भट्टराईले औंल्याए । उनले भने, ‘हामीले एमाले, माओवादी वा कांग्रेसलाई सरकार बनाउन समर्थन गर्नेभन्दा पनि आफ्नै नेतृत्वमा सरकार बनाउने स्थिति पनि छ । हामी पदप्राप्ति गरेर जनतको सेवा गर्ने कुरालाई नाइँ भन्दैनौं । अन्तिम विकल्प हामी नै हौं ।’ साथै उनले प्रदेशसभा विघटन भएर नयाँ निर्वाचनमा जाने कुरा नसोचेको पनि बताए ।
राजबन्दी रिहाइको माग पूरा भए आफ्नो पार्टी लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका साथै संघीय सरकारमा पनि जान सक्ने उनले औंल्याए । भट्टराईले भने, ‘हामी सबै ठाउँका सरकारमा जान सक्छौं । त्यसका निम्ति राष्ट्रपति निर्वाचनसम्म पर्खनुपर्छ भन्ने छैन ।’
तपाईंहरुले त डिल्लीबजार कारागारलाई अघोषित पार्टी कार्यालय बनाउनु भएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘रेशम चौधरी हाम्रो कमान्डर हो । उहाँ जेलमा चुपचाप लागेर बस्ने कुरा हुँदैन । बाहिर निस्कन चलखेल त गर्नैपर्‍यो नि ।’ १४ वर्ष अगाडिको मुद्दा लगेर पार्टीका सांसदलाई थुनिएको आरोप पनि उनले लगाए । भट्टराईले तत्काल प्रचण्ड नेतृत्वको गठबन्धनबाट बाहिर ननिस्कने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot