Logo

तेस्रोपटक अनुगमन गर्न बिहान साढे पाँज बजे एयरपोर्ट पुगे मन्त्री किराँती



काठमाडौं, माघ २६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय तेस्रोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । विहिबार विहान साढे पाँच बजे विमानस्थल पुगेका मन्त्री किराँतीले विमानस्थलमा क्रमिक सुधार भएको छ वा छैन भनेर अनुगमन गरेका हुन् ।

तेस्रोपटक अनुगमनमा पुगेका उनले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, ‘यो नै पूर्ण सुधार होइन । तर, क्रमिक सुधार भएको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४ सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद।’

एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर कोड संचालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा समेत मन्त्री किराँतीले गरे । कर्मचारीले हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्था समेत एयरपोर्टमा गरिएको छ । यसले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किरातीले बताए ।

सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि उनले बताए। उनले भने, ‘यहाँ भएका सुधारहरु मेरा लागि होइन । तपाईंहरुको मिहेनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो एयरपोर्टप्रति उहाँहरुलाई अपनत्व पनि महसुस गराउनेछ ।’

साथै मन्त्री किराँतीले पाँच सय ट्रलीको मूल्यांकन गरी आर्थिक प्रस्तावना समेत तयार गर्न निर्देशन दिएका छन् । १५ सय चक्का लगायत पार्टस् खरीदका लागि बोलपत्र आह्वान पनि गरिएको छ । बिग्रिएका ट्रलीका चक्का मर्मत समेत हुने भएको छ । सँगै उनले सुरक्षा जाँचका लागि स्क्यानरको व्यवस्था गर्न विमानस्थल व्यवस्थापनलाई सुझाव समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्