Logo

शेरबहादुर एन्ड टिम टाट पल्टिसक्यो, केही वृद्धको व्यवस्थापनबाहेक अरू मतलब छैनः राजनीतिक विश्लेषक



काठमाडौं, २६ माघ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही वृद्धको व्यवस्थापनबाहेक अरु कुरा नसोच्ने नेता भएको आरोप लगाएका छन् ।
‘कांग्रेसमा धेरै नेताहरु रिटायर हुने बेलामा पुगेका छन् । पार्टी सभापति उनीहरुलाई कसरी पद व्यवस्थापन गर्ने भन्ने ध्याउन्नमा छन् । कसरी सरकारमा गएर आफ्ना इष्टमित्रलाई पद दिने भन्ने बाहेक सोच छैन । अहिले कांग्रेसको नेतृत्व मात्र होइन कि शेरबहादुर एन्ड कम्पनी नै टाट पल्टेको छ । उनीहरुको हुस्सुपनाले संसदको सबभन्दा ठूलो पार्टीले सत्ता निर्माण सकेन, प्रधानमन्त्री र सभामुख फुत्किसक्यो । राष्ट्रपति पनि गुमाउने वाला छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै आचार्यले भने ।देउवाले कांग्रेसलाई पेन्डुलमजस्तो बनाएको पनि उनले औंल्याए । आचार्यले भने, ‘कांग्रेस पेन्डुलम जस्तो भएको छ । न सत्तापक्षमा छ, न विपक्षमा छ । नयाँ संगठन, विचार नभए पार्टी चल्न सक्दैन ।’
देउवाले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन खोजेको पनि उनले बताए । आचार्यले थपे, ‘भरपर्दो स्रोतले मलाई बताए अनुसार शेरबहादुरजीको इच्छा रामचन्द्रजी हो । तर रामचन्द्रजी प्रचण्डको पहिलो च्वाइस हो कि होइन ? रामचन्द्रजीले पनि राष्ट्रपतिका लागि इच्छुक छु भन्नुभएको छैन ।’
राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता बहिर्गमन रवि लामिछानेभन्दा पनि प्रचण्डकै चाहनामा भएको उनले दाबी गरे । आचार्यले भने, ‘रास्वपाका मन्त्रीको बहिर्गमन रविको कारण भएको होइन, प्रचण्डका कारण हो । परराष्ट्र, रक्षा, गृह र अर्थ मन्त्रालय अरुसँगै भएपछि प्रचण्ड प्रधानमन्त्रीजस्ता नै देखिएका थिएनन् । देश बनाउन टिम चाहिन्छ, तयारी चाहिन्छ । बीपीले जनमत संग्रहपछि भन्नुभएको सम्झन्छु, जितेको भए पनि मसँग कुनै टिम थियो र ? रास्वपालाई सत्तामा जाने म्यान्डेट नै थिएन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot