काठमाडौं, २६ माघ । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा कांग्रेस आउने भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ३० दिनमै ढलेको छ ।
गत पुष २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, विश्वासको मत दिने बेलामा नागरिक उन्मुक्तिका सांसद अनुपस्थित् भएपछि रावल नेतृत्वको सरकार ३० दिनमै ढलेको हो ।
संविधानको धारा १६८ (२) अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशको ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । सुदुरपश्चिममा १९ सीट रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।