Logo

सिँगारिँदै पशुपति क्षेत्र



काठमाडौं, माघ २७ । महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ क्षेत्रमा तयारी तीव्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले यही फागुन ६ गते त्रयोदशीका दिन पर्ने महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठवटा उपसमिति गठन गरेर काम गरिरहेको जनाएको छ ।

शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

मूल समारोह समितिअन्तर्गत गठन भएका उपसमितिहरूले महाशिवरात्रिको तयारीलाई तीव्रता दिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवालगायतका उपसमितिहरूले पाएको जिम्मेवारीअनुसार काम सुरु गरिएको उनको भनाइ छ ।

शिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा साधुसन्तको आगमनसमेत सुरु । यस वर्ष एक हजार पाँच सयको हाराहारीमा साधुसन्तको आगमन हुने अनुमान ।
उनले भने, “पशुपति क्षेत्रमा रङरोगन र बिजुली–बत्ती जोड्ने, मर्मतसम्भारका काम भइरहेका छन् । महाशिवरात्रिको तयारीका क्रममा कोषले आउने आइतबार विशेष सफाइ पनि सुरु गर्न लागेको छ ।”

यस पटक महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको सहभागितामा तीनदिने लिङ्गपुराण, वेदपुराण र वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक कार्यक्रम गरिने उनले बताए।

शिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा साधुसन्तको आगमनसमेत सुरु हुन थालेको छ । विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तको लागि हंसमण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिने र त्यहाँ शुक्रबारदेखि संरचनाहरू निर्माण थालिने उनको भनाई छ। त्यसैगरी पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी, जुत्ताचप्पल राख्ने स्थानको व्यवस्थाको प्रबन्धसमेत सुरु भइसकेको छ ।

सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायतको प्रबन्ध मिलाइँदै ।
उनले भने, “सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेका छन् । मन्दिरको मूल ढोकालगायतका स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुनेछ ।”

धुनीका लागि पशुपति क्षेत्रका निर्मल, भष्मेश्वर, राममन्दिर, श्रीगोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायत अखडामा दाउराको व्यवस्था गर्नेछ । यसैगरी नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिनेछ । यस पटकको महाशिवरात्रिमा एक हजार पाँच सयको हाराहारीमा साधुसन्तको आगमन हुने कोषको अनुमान छ ।

शिवरात्रिमा शान्तिसुरक्षा व्यवस्थापनका लागि एक हजार पाँच सय हाराहारीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालित हुनेछन् । मूल मन्दिर परिसरमा नेपाली सेनाले समेत व्यवस्थापनमा सहयोग पु-याउनेछ । महाशिवरात्रिमा छिमेकी राष्ट्र भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्