Logo

दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान लिएर एमाले नेताहरू गाउँ गाउँमा पुग्ने



काठमाडौं, माघ २७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको संगठन सुदृढीकरणका लागि सञ्चालन हुने मिसन ग्रासरुट अभियान फागुन र चैत महिनाभरि देशैभरि एकैसाथ हुनेछ ।

एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बिहीबार बसेको पार्टीको सचिवालय बैठकले दुईमहिने मिसन ग्रासरुट अभियान देशैभरि सञ्चालन गर्ने निर्णय गरेको हो । सो अभियानबाट पार्टीको संगठनमा नयाँ ऊर्जा थपिने विश्वास नेताको छ ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीले १ फागुनबाट मिसन ग्रासरुट अभियान सञ्चालन हुने जानकारी दिए । ५ फागुनमा सातवटै प्रदेश अभियानमा खटिने नेतालाई अभिमुखीकरण गरेर थालनी गरिनेछ । पार्टीको संगठन सुदृढीकरणको दुईमहिने अभियानपछि पार्टी नयाँ ढंगले अघि बढ्ने विश्वास लिइएको उपमहासचिव ज्ञवालीले बताए ।

‘सातै प्रदेशमा अभियानमा खटिने साथीको अभिमुखीकरणबाट सुरु हुनेछ र अभिमुखीकरणको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नुहुनेछ’ उपमहासचिव ज्ञवालीले भने, ‘सात जना उपाध्यक्ष एक एक प्रदेशमा जानुहुनेछ र यो दुईमहिने अभियानपछि पार्टी फरक ढंगले जाने विश्वास गरिएको छ ।’

अभियानमा पार्टी केन्द्रीय कमिटीका सदस्य, संघीय र प्रदेशका सांसद, भ्रातृसंगठन नेताका साथै सबैलाई गाउँ केन्द्रित कार्यक्रममा परिचालन गरिने योजना एमालेको छ । दुई महिनासम्म सबै नेता गाउँमा केन्द्रित भएर सो अभियान सञ्चालन गर्न लाग्ने उनले बताए । अभियान सञ्चालनका लागि नेतालाई पार्टीको निर्देशनसहित ११ वटा कार्यादेश तोकेर जिम्मेवारी दिइएको छ ।

‘मिसन ग्रासरुट’ अभियान सञ्चलनको अवधिसम्म पार्टीको सदस्यता वितरण, नवीकरण, पुराना नेता कार्यकर्ताको सम्मान, जनप्रतिनिधि र पार्टी कमिटीबीच अन्तरसम्बन्धलगायतका काम हुनेछ । आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot